Online Bichar
शुक्रबार, बैशाख २५, २०८३ | Friday, May 8, 2026

काठमाडौं, २५ वैशाख २०८३ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित हन्ताभाइरसका हालसम्म आठवटा केस फेला परेको जनाएको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको छ । तीनजनालाई शंकास्पद बिरामीका रूपमा राखिएको छ ।

हन्ताभाइरस सुरुमा सामान्य फ्लुजस्तो देखिए पनि बिरामीको अवस्था अचानक गम्भीर बन्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

अर्जेन्टिनाबाट प्रस्थान गरेको डच क्रुज जहाजमा देखिएको यो संक्रमणले विश्वभरका वैज्ञानिकहरूको ध्यान तानेको छ । जहाजमा सवार तीनजना यात्रुको मृत्यु भइसकेको छ, जसका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरू सतर्क बनेका छन् ।

मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओ प्रमुखले हन्ताभाइरस कुनै नयाँ भाइरस नभएको र यो कोभिड–१९ जस्तो महामारी नबन्ने स्पष्ट पारेका छन् । उनले भने, “यो कोरोना भाइरस होइन र यो महामारी पनि होइन । यो संसारले कोभिड–१९ को समयमा देखेको जस्तो अवस्था होइन ।”

डब्ल्यूएचओले आधिकारिक रूपमा ती १२ देशलाई सतर्क गराएको छ, जहाँका नागरिक सेन्ट हेलेनामा उक्त क्रुज जहाजबाट ओर्लिएका थिए । ती देशहरूमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, सिंगापुर र टर्की छन् ।

यद्यपि, जहाजमा रहेका अन्य यात्रुहरूमा हालसम्म कुनै लक्षण नदेखिएको बताइएको छ ।

अप्रिल ११ मा जहाजमा पहिलोपटक एकजनाको मृत्यु भएको थियो । मृतकमा अप्रिल ६ देखि लक्षण देखिन थालेको थियो । सुरुमा यसलाई सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको थियो ।

जहाजबाट ओर्लिएपछि एक संक्रमितको जोहानेसबर्गमा मृत्यु भयो । स्विट्जरल्यान्डमा पनि अर्को संक्रमण पुष्टि भएको थियो । त्यसपछि मात्र हन्ताभाइरस भएको पुष्टि गरिएको हो ।

हाल डब्ल्यूएचओ नेदरल्यान्ड्सका चिकित्सक र युरोपेली रोग नियन्त्रण तथा निवारण केन्द्रका विज्ञहरूको टोली जहाजमै बसेर यात्रुहरूको स्वास्थ्य परीक्षण र जोखिम मूल्यांकन गरिरहेको छ ।

हन्ताभाइरस कसरी फैलिन्छ ?
यो भाइरस मुख्य रूपमा मुसाको सम्पर्कबाट फैलिन्छ । मुसाको र्‍याल, पिसाब र दिसामार्फत मानिसमा संक्रमण सर्न सक्छ ।

विशेषज्ञहरूका अनुसार अधिकांश हन्ताभाइरस स्ट्रेनहरू कोरोना भाइरसजस्तै हावामार्फत मानिसबाट मानिसमा सजिलै सर्दैनन् । यो मुख्यतः बन्द स्थान वा प्रत्यक्ष शारीरिक सम्पर्कका माध्यमबाट फैलिन सक्छ ।

यसको ‘इन्क्युबेसन पिरियड’ अर्थात् लक्षण देखिन लाग्ने समय ६ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिनमा थप संक्रमण देखिन सक्ने अनुमान गरिएको छ ।

हन्ताभाइरसका सुरुआती लक्षणहरू सामान्य फ्लुजस्तै हुन्छन्, जसमा ज्वरो आउने, शरीर दुख्ने र कमजोरी महसुस हुने समावेश छन् ।

भाइरसले रक्तनलीहरू कमजोर बनाउने भएकाले फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्छ । र, बिरामीको अवस्था अचानक गम्भीर बन्न सक्छ ।

चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा बिरामीलाई हावामा हुँदाहुँदै पनि डुबिरहेको जस्तो अनुभव हुन्छ । गम्भीर अवस्थामा ईसीएमओ मेसिनको सहायताले मात्र ज्यान बचाउन सकिने बताइएको छ ।

डब्ल्यूएचओले हाल सार्वजनिक स्वास्थ्यका लागि समग्र जोखिम कम रहेको जनाएको छ । संक्रमणको साङ्लो तोड्न विभिन्न देशका स्वास्थ्य निकायहरू मिलेर काम गरिरहेको डब्ल्यूएचओले बताएको समाचारमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया