काठमाडौं, २५ वैशाख २०८३ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुनेछ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षाको आकलन
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ रहेको विभागले जनाएको छ ।
अधिकतम तापक्रमको आकलन
अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहको विभागले प्रस्ट पारेको छ । सुदूरपश्चिम प्रदेशका उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भू–भाग, वाग्मती प्रदेशका पश्चिमी भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
कोसी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
न्यूनतम तापक्रमको आकलन
न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ । सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भूभाग, मधेस प्रदेशका मध्य भूभाग र कोसी प्रदेशका मध्य तथा उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशच हहेको छ ।
देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको छ ।
विभाग भन्छ– पूर्वानुमान मिल्यो
गत वर्ष विभागले गरेको पूर्वानुमान मिलेको बताइएको छ । “२०८२ को मनसुन ऋतुको लागि यस विभागले गरेको वर्षाको आकलनअनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा बढी तथा मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेकोमा देशका धेरैजसो केन्द्रहरूमा सरदरभन्दा कमदेखि सरदर वर्षा भयो,” विभागले भनेको छ ।
केही केन्द्रमा सरदरभन्दा बढी वर्षा मापन गरिएको विभागले बताएको छ ।
अधिकतम तापक्रम तथा न्यूनतम तापक्रमको आंकलन पनि मिलेको विभागले बताएको छ । “देशका अधिकांश स्थानमा तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेकोमा आंकलन अनुसार नै अधिकांश स्थानमा सरदरभन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम मापन गरिएको थियो,” विभागले भनेको छ ।






