काठमाडौं, २४ वैशाख २०८३ । चामल आयात गर्ने कारोबारीले खाद्यवस्तुमा हानिकारक विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको दाबीसहित ३७ करोड रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको उजुरी उपभोक्ता अदालतबाट दर्ता अस्वीकार गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च–नेपालका तर्फबाट महासचिव विष्णु प्रसाद तिमिल्सिनाले बुधबार (वैशाख २३) मा दिएको उजुरी दर्ता अस्वीकार गरिएको हो । काठमाडौं उपत्यकामा स्थायी तथा अस्थायी बसोवास गर्ने तथा पर्यटकहरुसहित वार्षिक करिब ५० लाख उपभोक्ताले अवशेषयुक्त दैनिक उपभोग्य खाद्य वस्तु चामलको उपभोग गर्न वाध्य भएको दाबी उजुरीमा थियो ।
प्रत्येक उपभोक्ताको आर्थिक, शारीरिक, मानसिक, भौतिक हानी पुगेको दाबीसहित हानि बापत कारोबारमा सम्बद्ध प्रत्येक व्यापारीबाट जनही १ करोडका दरले जम्मा ३७ करोड रुपैयाँ क्षतिपूर्ति भराई पाउन उजुरीमा माग थियो । ‘‘उजुरी दर्ता गर्न अस्विकार गरिएको छ । अदालतका श्रेस्तेदारबाट दरपिठ गर्ने भनेर रोकिए पनि हामीले त्यसविरुद्ध अर्को निवेदन दिने भनेका छौं,’’ उजुरीमा सहजीकरण गरेका वरिष्ठ अधिवक्ता ज्योती बानियाँले बाह्रखरीसँग भने, ‘‘अर्को निवेदनमाथि इजलासबाट टुंगो लाग्छ ।’’
उपभोक्ता अधिकारवादीले दरपीठको आदेश प्राप्त भएलगत्तै त्यसविरुद्ध पुनः अर्को निवेदन दिने बताएका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० बमोजिम क्षतिपूर्ति रकम भराएर उपभोक्ता संरक्षण कोष स्थापना गरी जम्मा गराउन समेत आदेशको माग उजुरीपत्रमा थियो ।
यस्तै, विगत १ वर्षभित्र आयात गरेको चामलको बिल भन्सार कागजात सहित आयात गर्दा विषादी परीक्षण गरेको परीक्षण प्रतिवेदन सहितका कागजात उपभोक्ता अदालतमा पेश गराउन अन्तरकालीन आदेशको माग पनि गरिएको थियो ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, उपाध्यक्ष टंकप्रसाद शेरचन, महासचिव ओमप्रकाश वंशल, कोषाध्यक्ष नरेशकुमार अग्रवाल, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतलाई विपक्षी बनाएर अदालतमा उजुरी पेश भएको थियो ।
११ थरीका विषादीको दाबी
चामलको परिक्षणमा ढुसी नियन्त्रण गर्ने रसायन तथा किरा रोग नियन्त्रण गर्ने विषादीको अवशेष प्रयोग ८३ प्रतिशत चामलको नमूनामा भेटिएको, ८० प्रतिशत चामलको नमूना परिक्षणमा दुइ वा सो भन्दा बढी विषादीको प्रयोग भएको पाइएको, चामलमा कम्तिमा ५।९ देखि बढीमा ३१२।५४ र औषतमा २२।१३ प्रति किलो युजिरकेजि ९माइक्रोग्राम प्रति किलोग्राम० विषादीको प्रयोगको अवशेष भेटिएको र प्रयोग भएका विषादीमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोल प्रमुख विषादीहरू भएको अध्ययन प्रतिवेदन पनि पेश गरिएको थियो ।
धान किसानहरू र थोक व्यापारीहरुले एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोस जस्ता प्रतिबन्धित तथा विषालु विषादीहरूको प्रयोग सामान्य अभ्यास भएको अध्ययन प्रतिवेदन पनि पेश भएको थियो । काठमाण्डौ उपत्यकामा बिक्रि हुने चामलमा ११ थरीका विषादीको अवशेष भेटिएको समेत खुलाइएको छ । वास्मति चामलमा विषादीको मात्रा गैर वास्मतिको तुलनामा दोब्बर बढी पाइएको अध्ययन प्रतिवेदन समेत पेश गरिएको थियो ।
माग के थियो ?
विषादीयुक्त चामलका कारण प्रत्येक उपभोक्ताको स्वास्थ्यमा हानी पुगेको दाबीसहित क्षति बापत कारोबारमा सम्बद्ध प्रत्येक व्यापारीबाट जनही १ करोडका दरले ३७ करोड रुपैयाँ क्षतिपूर्तिसहित चामलको उत्पादक, पैठारीकर्ता, भण्डारीकर्ता तथा बिक्रेताहरुलाई कुनै पनि प्रतिवन्धित रासायनिक विषादीको प्रयोग रोक्न आदेशको माग उजुरीमा गरिएको छ ।
साथै, आफ्नो ब्रान्डको चामलमा रासायनिक विषादीको प्रयोग नभएको घोषणा सहित स्पष्ट लेवल लगाउने कार्य अनिवार्य गर्न, लेवल नभएका चामलको उत्पादन, पैठारी, भण्डारण र बिक्री वितरण पूर्ण रुपमा रोक लगाउन, निरन्तर अनुगमन गर्न र अनुगमन प्रतिवेदन सार्वजनिक गराउन आदेश जारि गर्न समेत उजुरीकर्ताको माग छ । यस्का साथै फलफुल र तरकारीको विषादीमा कडा नियमन गरी तत्काल रोक्न लगाउन पनि उजुरीमा माग गरिएको छ ।बाह्रखरीबाट






