Online Bichar
बिहिबार, बैशाख २४, २०८३ | Thursday, May 7, 2026

काठमाडौं, २४ वैशाख २०८३ । अमेरिका र इरानबीच होर्मुज जलमार्ग खोल्ने विषयलाई लिएर सहमति बनेको विभिन्न मिडिया रिपोर्ट आएको छ । रिपोर्टका अनुसार, दुवै देश अमेरिकी नौसैनिक नाकाबन्दी खुकुलो पार्न र त्यसको बदलामा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्गलाई चरणबद्ध रूपमा पुनः सञ्चालन गर्न सहमत भएका छन् । अरबी सञ्चारमाध्यमहरूका अनुसार, यो सम्झौता बिहीबार दुई देशबीच बढेको तनावपछि भएको हो ।

अल अरबियाका अनुसार, दुवै पक्षबीच बिहीबार एउटा सहमति भएको हो । अमेरिका–इरान युद्धको सुरुआतमा इरानले होर्मुज जलमार्गलाई बन्द गरेको थियो, जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।

रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै भनिएको छ, “नाकाबन्दी खुकुलो बनाउने र होर्मुज जलमार्गलाई विस्तारै खोल्ने विषयमा सहमति जुटेको हो । अबको केही घण्टामा होर्मुजमा फसेका जहाजहरूलाई बाहिर निस्कन अनुमति दिइनेछ ।”

होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापार मार्गहरूमध्ये एक हो, जहाँबाट विश्वव्यापी तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुन्छ । यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा संकट र तेलको मूल्यमा भारी उतारचढाव देखिएको थियो ।

दुई देशबीचको यो सहमतिले विश्व बजार र समुद्री व्यापारलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ । यद्यपि, हालसम्म अमेरिका र इरानका तर्फबाट यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी गरिएको छैन ।

नाकाबन्दीका क्रममा अमेरिकी लडाकु विमानले इरानको एउटा तेल ट्यांकरमाथि आक्रमण गरेको थियो, जसले ट्यांकरको दिशा नियन्त्रण गर्ने भागलाई निसाना बनाएको थियो । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभएमा इरानमाथि अझ ठूलो हमला गर्ने चेतावनी दिएका थिए ।

 

तपाईको प्रतिक्रिया