Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

काठमाडौं, २३ वैशाख २०८३ । विगत ६ दशकको इतिहास बोकेको निजी क्षेत्रको एक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्व अब अञ्जन श्रेष्ठले हाक्ने भएका छन् । यससँगै उनी महासंघको २१औँ अध्यक्ष बनेका हुन् ।

महासंघको पहिलो अध्यक्ष लोकनाथ जोशी थिए । उनले वि.सं २०२२ देखि २०२४ सालसम्म अध्यक्षको कार्यभार सम्हालेका थिए । उनीसँगै २० जना अध्यक्षबाट महासंघको नेतृत्व भइसकेको छ । नेपालको निजी क्षेत्रको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघको तीन वर्षसम्मको नेतृत्व अब अञ्जन श्रेष्ठले नै गर्नेछन् ।

यसअघि उनी २०८० वैशाखमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । श्रेष्ठले महासंघको अध्यक्ष बन्नुअघि विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

उनी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको पूर्वअध्यक्ष पनि हुन् । यससँगै, महासंघमा प्रवेश गरेको करिब साढे दुई दशकमा वस्तुगत उपाध्यक्ष र कार्यकारिणी सदस्यका रूपमा लामो समय क्रियाशील रहे ।

निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवर्ष कार्यकाल पूरा गरेसँगै ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिसहित अध्यक्षको नेतृत्व श्रेष्ठले पाएका हुन् ।

महासंघमा यसअघि रहेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान यो नै अन्तिम हो । तर अब वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेपछि यो प्रावधान खारेज हुनेछ । यसपछिको अर्को कार्यसमितिमा स्वतः अध्यक्ष हुने व्यवस्था गतवर्ष नै विधान संशोधनमार्फत हटाइएको थियो ।

महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्दाको कार्यकाल हालसम्मलाई तीनवर्ष रहने छ । तर, यसपछिको प्रतिस्पर्धाबाट चयन भएका अध्यक्षको कार्यकाल दुईवर्षको हुनेछ ।

यसपटक श्रेष्ठ आफू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नु परेन । तर उनले आफ्नो समर्थनको प्यानल खडा गरे । उनको प्यानलले वस्तुगत उपाध्यक्ष र केही सदस्यबाहेक सबै पदमा बर्चस्व कायम गरेको छ । यसले उनको कार्यकाल सहज हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया