Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्षसमेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति उपचारकै क्रममा काठमाडौंको ह्याम्स अस्प्तालमा निधन भएको हो ।

विस. १९९३ साल वैशाख २२ गते महोत्तरीको भमरपुरमा रामचन्द्र अधिकारी र पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रुपमा भरतमोहनको जम्न भएको थियो ।

नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच पार्टी एकता सम्पन्न गर्न उनको योगदान रहेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।
दुईपटक उपप्रधानमन्त्री भइसकेका अधिकारीले चारपटक अर्थमन्त्रालय सम्हालेका थिए ।

उनी पछिल्लो समय सानेपामा बस्दै आएका थिए । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका भाइसमेत रहेका उनी मनमोहन मेमोरियल फाउण्डेसनका अध्यक्ष रहेका थिए । उनी १६ वर्षको उमेरमा नै राजनीतिमा संलग्न भएका थिए । उनी पहिलोपटक अर्थमन्त्री हुँदा ७५ वर्ष पुगेका बुढाबुढीलाई वृद्धभत्ता एकसय रुपैयाँ दिने व्यवस्था गरेका थिए । त्यसबेलादेखि नै आफू वृद्ध व्यक्तिको पक्षमा लाग्दै आएको उनले एक अन्तर्वार्ताका क्रममा बताएका छन् । राजनीतिक पार्टीहरुले ७० वर्ष नाघेकालाई मतलब नगरेकोमा कहिलकाहीँ दुःख लाग्ने गरेको उनले त्यस अन्तरवार्तामा बताएका थिए ।

आफ्नो गाउँ आफै बनाऔं अभियान बनाएका हिसाबले उनको त्यतिबेला निकै चर्चा थियो ।

उनको भारतको मेदान्त अस्पतालमा मुटुको उपचार गराइएको थियो । सन् २०११को मे २८का दिन भ्यालु एडेड ट्याक्स बिल उल्लंघनकर्तालाई छुट दिएकोमा भने उनको कडा आलोचना भएको थियो । अप्रिल २०११मा उनी र अमेरिकी व्यापारिक प्रतिनिधि रोन किर्कले टिफा सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन दुई देशबीच व्यापार सम्बन्धी महत्वपूर्ण सम्झौता हो ।

उनी २०४६ सालको परिवर्तनपछि बनेको विश्वनाथ उपाध्याय नेतृत्वको संविधान सुझाव आयोगका सदस्य पनि थिए ।

सो आयोगले नै २०४७ सालको संविधानको मस्यौदा बनाएको हो । आयोगका सदस्यमा माधवकुमार नेपाल, निर्मल लामा, लक्ष्मण अर्याल, दमननाथ ढुंगाना सदस्य तथा सूर्यनाथ उपाध्याय सदस्यसचिवको रुपमा काम गरेका थिए । तत्कालीन नेकपा एमालेको स्थायी समितिका सदस्य अधिकारीले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा पार्टीको नवौं महाधिवेशनका क्रममा गरेका थिए । त्यतिबेला पार्टीको विधानमा ७० वर्ष पुगेपछि अवकाश लिने प्रावधान थियो ।

तर अहिले उक्त व्यवस्था हटाइएको छ । अधिकारी नेपाल कम्युनिष्ट पार्टीमा सन् १९५५ मा प्रवेश गरेपछि पार्टीको तेस्रो महाधिवेशनमा पोलिटव्युरो सदस्य निर्वाचित भएका थिए । उनी करिब ६० वर्ष राजनीतिमा सक्रिय रहेका थिए ।

तपाईको प्रतिक्रिया