Online Bichar
सोमबार, बैशाख २१, २०८३ | Monday, May 4, 2026

काठमाडौं, २१ वैशाख २०८३ । वर्षेनी ठूलो संख्यामा नेपालीलाई ‘डिपोर्ट’ ९देश निकाला० र उद्धार गरी स्वदेश फर्काइन्छ । यो संख्या वर्षेनी बढ्दो छ । यसरी फर्किने अधिकांशतः अवैध तरिकाले विदेश गएको र सम्बन्धित देशको कानुन उल्लंघन गर्नेहरू पर्छन् ।

त्यसरी फर्काइँदाका पीडा मिडियामा आउँछ । तर, मानव–तस्करहरूको प्रलोभनमा परी वा जानाजान अवैध तरिकाले विदेश जानेको संख्या घटेका छैनन् । जसका कारण डिपोर्ट हुने र नेपाली दूतावासले उद्धार गरी फर्काउनेको संख्या वर्षेनी बढ्दो छ ।

अवैध तरिकाले विदेश जानेको संख्या किन घटेको छैन त ?  किन डिपोर्ट र उद्धार गर्नुपर्नेको संख्या बढिरहेको छ ?

परराष्ट्र मन्त्रालय उच्च स्रोत भन्छ, “अरु देशले डिपोर्ट र उद्धार भई आउने आफ्ना नागरिकमाथि कडा निगरानी र अनुसन्धान गर्छन् । उनीहरूलाई हिरासतमा राखी कानुन तोडेका छन् वा छैनन् जाँच गर्छन् । दोषी पाएमा कारबाही गर्छन् । तर नेपालमा त्यस्तो छैन । यसरी आउनेलाई सहजै छाडिन्छ । अनि लुकीलुकी जान्छन् र अप्ठेरे परे उद्धार गर्न सरकार छँदैछ भन्ने उनीहरूको बुझाई छ । ‘कारबाही हुन्छ’ पर्ने डर छैन ।”

परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार, थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासले मात्र चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता (२०८२ साउन १ गतेदेखि वैशाख १० गतेसम्म) दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६१२ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काएको छ । तिनीहरू अधिकांशतः भिजिट भिसामा ती देश पुगेको र त्यहाँ अवैधरुपमा सञ्चालित ‘स्क्यामिङ सेन्टर’मा काम गर्नेहरू छन् ।

बितेको ९ महिना १० दिनको अवधिमा कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्बाट ६ जना नेपालीको उद्धार भएको छ । थप ५३ जनालाई उद्धार गरी नेपाल फर्काउने तयारी भइरहेको छ ।

परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार, सन् २०२५ जनवरी १ देखि २०२६ अप्रिल ३० सम्मको १४ महिनाको अवधिमा उद्धार तथा डिपोर्ट हुँदै आउने नेपालीको संख्या ४ हजार ५०० सयभन्दा बढी छ । उक्त अवधिमा विभिन्न देशले ३ हजार ७३२ जना नेपालीलाई डिपोर्ट गरेका छन् ।

बितेको १४ महिनामा सबैभन्दा ठूलो संख्या अमेरिकाबाट डिपोर्ट हुँदै आउनेहरूको छ । यो अवधिमा अमेरिकाले ७०१ जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाबाट डिपोर्ट हुनेमा ४८ जना महिला र ६५३ जना पुरुष छन् । अमेरिकाले डिपोर्ट गरेका अधिकांश मानवतस्करको प्रलोभनमा परी अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्नेहरू छन् ।

विभागका अनुसार, पछिल्लो १४ महिनामा ७८ देशले नेपालीलाई डिपोर्ट गरेका छन् । मलेसियाले ६६०, युनाइटेड अरब इमिरेट्स (युएई)ले ३६०, दक्षिण कोरियाले २८६ र जापालने १५३ जना नेपालीलाई डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

उद्धार र डिपोर्ट भई आएकाहरूलाई के गरिन्छ त रु अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बाह्रखरीसँग भने, “प्रहरीले ‘हामीलाई बुझाउनू’ भनी पहिल्यै पत्रमार्फत जानकारी दिएको खण्डमा अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिँदै प्रहरीलाई बुझाउँछ । अन्यथा, उनीहरूलाई सहजरुपमा अध्यागमनबाट बाहिरिन दिइन्छ ।”

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता राजन लिम्बुका अनुसार, विदेशबाट उद्धार र डिपोर्ट भई आउनेहरूमाथि खासै अनुसन्धान हुँदैन । उनीहरूलाई सामान्य एउटा फारम भराइन्छ र छोडिन्छ । फाराममा उनीहरूले व्यक्तिगत विवरण राख्नुपर्ने हुन्छ ।

“यसरी आउनेलाई त्यस्तो कारबाही गरिएको छैन,” ब्युरोका प्रवक्ता लिम्बुले भने, “केही पीडितविरुद्ध पनि उजुरी भने परेको छ ।”

प्रवक्ता लिम्बुका अनुसार, जुन देशले नेपालीलाई डिपोर्ट गरेको छ, उक्त देशको नेपालस्थित दूतावासले पूर्व जानकारी दियो भने विमानस्थल गएर उनीहरूलाई फाराम भराउने काम हुन्छ । फाराम भराउने क्रममा डिपोर्ट भएर आउनेलाई ‘काउन्सिलिङ’ पनि गरिन्छ । फाराम भराएपछि उनीहरूलाई विमानस्थलबाट घर जान दिइन्छ ।

विमानस्थलमा फाराम भराउँदा डिपोर्ट भएर आउनेलाई ‘को मार्फत गएको रु, कति पैसा बुझाएको रु’ भन्ने सामान्य सोधपुछ हुन्छ । तर अधिकांशले आफूलाई कसले पठाएको र कति पैसा तिरेर गएको भन्ने प्रहरीलाई बताउँदैनन् ।

“उद्धार गरी फर्काइएकाहरूको हकमा पनि यस्तै हुन्छ । सम्बन्धित देशको हाम्रो दूतावासले जानकारी दिएमा हामी उनीहरूलाई बोलाएर फाराम भराउँछौं,” ब्युरोका प्रवक्ता लिम्बुले भने ।

ब्युरोको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ मा विदेशमा मानव बेचबिखन गरेको आरोपमा ४९ वटा मुद्दा दर्ता भएका छन् । हालसम्म दर्ता भएका यस्ता मुद्दाको संख्या २९७ छ । चालु आर्थिक वर्ष सुरु भएयता अमेरिकामा ४, दक्षिणपूर्वी एसियामा १३, पश्चिम एसियामा ८, युरोपमा २ , भारतमा १८ र अन्य देशमा मानव बेचबिखन गरेको आरोपमा ४ वटा मुद्दा दर्ता भएका छन् ।

ब्युरोले मानव बेचबिखन गरेको आरोपमा चालु आर्थिक वर्ष २०८२र८३ सुरु भएयता १७ जना महिला र ४७ जना पुरुष गरी ६४ जनालाई पक्राउ गरेको छ ।

कुन वर्ष कति डिपोर्ट भए ?

अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२५ मा विदेशबाट डिपोर्ट भई आउने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

सन् २०२५ मा ७७ राष्ट्रले दुई हजार ७९० जना नेपालीलाई डिपोर्ट गरी नेपाल फिर्ता पठाएका थिए । सन् २०२४ मा ५६ देशले एक हजार २२८ जना नेपालीलाई डिपोर्ट गरेका थिए ।

सन् २०२४ तुलनामा सन् २०२५ मा डिपोर्ट हुने नेपालीको संख्या एक हजार ५६२ ले बढी छ । यसले अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा विदेशबाट डिपोर्ट हुने नेपालीको संख्या २।२७ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ ।

बितेको पाँच वर्षमा विदेशबाट डिपोर्ट भई ७ हजार ५०८ जना नेपालीलाई फर्काइएको छ । सन् २०२१ देखि २०२५ सम्मको अवधिमा उनीहरूलाई डिपोर्ट गरिएको हो ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ८८० जना, २०२२ मा एक हजार १६७ जना, २०२३ मा एक हजार ४४३ जना, २०२४ मा एक हजार २२८ जना र २०२५ मा दुई हजार ७९० जना नेपाली डिपोर्ट भएको देखिन्छ ।

कम्बोडियामा ठूलो संख्यामा नेपाली कारबाहीमा पर्नसक्ने

कम्बोडियामा अवैध रुपमा काम गरिरहेका नेपाली पनि कारबाहीमा पर्ने जोखिम बढेको छ । ‘स्क्यामिङ सेन्टर’हरूमा काम गर्ने नेपालीलगायत विदेशीलाई लक्षित गरी कम्बोडिया सरकारले नयाँ कडा कानुन ल्याएपछि कारबाहीमा पर्ने जोखिम बढेको हो ।

“कम्बोडियाको संसद्ले स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्नेलाई लक्षित गरी कडा कानुन पास गरेको छ,” कम्बोडियासमेत हेर्ने जिम्मेवारी पाएका थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बाह्रखरीसँग भने, “यदि कम्बोडियामा कोही नेपाली स्क्यामिङ्ग केन्द्रहरूमा काम गरिरहनु भएको छ भने तुरुन्त नेपाल फर्कनुपर्छ । नत्र उहाँहरूमाथि कडा कारबाही हुन्छ ।”

विना भिसा वा भिसाा अवधिभन्दा बढी समय बसिरहेका नेपालीहरूलाई पनि यथासिघ्र नेपाल फर्किन उनले अनरोध गरेका छन् ।

राजदूत वलीले कम्बोडियाको नयाँ कानुनबारे थप स्पष्ट पार्दै भने, “नयाँ कानुनमा अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्नेहरूलाई कामको प्रकृति हेरेर न्युनतम २ वर्षदेखि आजीवन कैदको सजाय र एक लाख २५ हजारदेखि ५ लाख अमेरिकी डलर जरिवाना लगाउने उल्लेख छ ।”

कम्बोडियामा कति नेपाली विना भिसा बसिरहेका छन् वा स्क्यामिङ सेन्टरहरूमा काम गरिरहेका छन् भन्ने थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको संख्याले देखाउँछ ।

आर्थिक वर्ष २०८२/८३ सुरु भएयता अर्थात् २०८२ साउन १ गतेयता मात्र दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६१२ जनालाई उद्धार गरी नेपाल पठायो । आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र आर्थिक वर्ष २०८१/८२ मा १५६ जना नेपालीलाई बैंककस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको थियो ।

कम्बोडियाको अध्यागमनले उपलब्ध गरेको तथ्याङ्क अनुसार, सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण ९भिजिट० भिसामा कम्बोडिया गएको देखिन्छ । सन् २०२२ मा यो संख्या एक हजार ९७७ पुगेको थियो ।

सन् २०२३ मा भिजिट भिसामा २ हजार ९४० जना नेपाली कम्बोडिया गएका थिए । सन् २०२४ मा ६ हजार ४०४ जना नेपाली भिजिट भिसामा कम्बोडिया पुगेको अध्यागमनको तथ्याङ्कले देखाउँछ । भिजिट भिसामा कम्बोडिया जानेको संख्या सन् २०२५ मा ९ हजार ६७६ पुगेको थियो ।ब्राहखरीबाट

तपाईको प्रतिक्रिया