काठमाडौं, २१ वैशाख २०८३ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जीटुजी (सरकार–सरकार) माध्यमबाट मल खरिद गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार स्वीकृत परिमाणमध्ये ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल रहेको छ ।
मन्त्री पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भारतसँग जीटुजी प्रक्रियामार्फत उक्त परिमाणमा मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए । कृषि उत्पादन बढाउन तथा किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले सरकारले यो निर्णय गरेको जनाएको छ ।






