Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १८ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो ।

वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिए । ‘ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारवाही अभियानलाई तीव्रता दिएको हो’, उनले भने ।

महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ ।
नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले बताए ।

महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ ।महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।
रासस

तपाईको प्रतिक्रिया