काठमाडौं, ९ वैशाख २०८३ । सन् २०२५ मा विश्वभरका आप्रवासन मार्गहरूमा करिब ७ हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले जनाएको छ।
संस्थाका अनुसार आप्रवासनका लागि सुरक्षित र वैकल्पिक बाटाहरू नहुँदा मानिसहरू बाध्य भएर जोखिमपूर्ण र अनियमित यात्रामा निस्कनु परेको हो।
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले सार्वजनिक गरेको तथ्यांक वास्तविक संख्या भन्दा कम हुन सक्ने चेतावनी पनि दिएको छ। संस्थाले भनेको छ, “यी तथ्यांक पछाडि वास्तविक मानिसहरू छन्, जो खतरनाक यात्रामा निस्कन्छन् र परिवारहरू छन् जो आफ्ना आफन्तको खबरको पर्खाइमा छन्।”
सन् २०२५ को यो संख्या सन् २०२४ मा दर्ज गरिएको करिब ९ हजार २०० भन्दा केही कम भए पनि आप्रवासन संकट अझै गम्भीर रहेको देखिएको छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यो तथ्यांकले आप्रवासन सम्बन्धी मृत्यु रोक्न विश्वव्यापी रूपमा भइरहेको कमजोरीलाई देखाउँछ।
रिपोर्टअनुसार अमेरिका र मध्य अमेरिकी मार्गमा नीतिगत परिवर्तन र सीमा नियन्त्रण कडा भएपछि मृत्यु संख्या केही घटेको देखिए पनि युरोपतर्फका समुद्री मार्गमा जोखिम अझै उच्च छ।
विशेषगरी रोहिंग्या शरणार्थीहरू यात्रा गर्ने बंगालको खाडी र अण्डमान सागर क्षेत्र सन् २०२५ मा सबैभन्दा घातक मार्गका रूपमा देखिएको छ।
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन प्रमुख एमी पोपले भनेकी छन्, “मार्गहरू परिवर्तन भइरहेका छन्, तर खतराहरू अझै उस्तै छन्। राम्रो तथ्यांक र प्रभावकारी नीतिबाट मात्र यी जोखिम कम गर्न सकिन्छ।”
संस्थाका अनुसार सन् २०१४ यता करिब ३ लाख ४० हजार परिवार यस आप्रवासन संकटबाट प्रत्यक्ष प्रभावित भएका छन्, जसले आफ्ना बेपत्ता आफन्तको खोजीमा गहिरो पीडा भोगिरहेका छन्।






