Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ फागुन । बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार विहान गरिने भएको छ।

पोस्टमार्टमका लागि समय लागे पछि विहिबार गर्ने भनिएको श्रद्धान्जली आज गर्न लागिएको हो। शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो।

यसअघि, बिहीबारै मृतकका शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय गरिएको थियो। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातैजनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भएको छ।

मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ। अधिकारीको शव शुक्रबार बिहान टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिएपछि पोखरा लगिने जनाइएको छ। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको बैठकले गरिसकेको छ।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

तपाईको प्रतिक्रिया