काठमाडौं, ३ वैशाख २०८३ । इजरायलले दक्षिणी लेबनानमा सम्भावित सैन्य कारबाही हुने चेतावनी जारी गरेको छ। इजरायली डिफेन्स फोर्सेजका प्रवक्ता अविचाई अद्राईले दक्षिणी लेबनानका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सारिन आग्रह गरेका छन्।
उनका अनुसार हिजबुल्लाहका गतिविधिका कारण इजरायली सेनालाई उक्त क्षेत्रमा कारबाही गर्न बाध्य हुनुपरेको हो। “हामी हाम्रो आग्रह पुनः दोहोर्याउँछौँ, तपाईंहरू तुरुन्तै आफ्नो घर खाली गरी जहरानी नदीको उत्तरतर्फ सर्नुहोस्,” उनले भने। साथै उनले हिजबुल्लाहका सदस्य, संरचना वा हतियार नजिक रहनेहरू जोखिममा पर्ने चेतावनी पनि दिएका छन्।
हिजबुल्लाहको प्रतिक्रिया
यसैबीच, इरान समर्थित समूह हिजबुल्लाहले बिहीबार बिहान इजरायलमाथि कैयौँ रकेट आक्रमण गरेको दाबी गरेको छ। टेलिग्राममार्फत जारी विज्ञप्तिमा लेबनान सीमावर्ती इजरायली क्षेत्रहरूलाई निशाना बनाइएको उल्लेख छ। हिजबुल्लाहले अमेरिका र इजरायलले लेबनान तथा त्यहाँका नागरिकमाथि आक्रमण जारी राखेमा प्रतिकार अझै तीव्र बनाइने चेतावनी दिएको छ।
मानवीय अवस्था गम्भीर
संयुक्त राष्ट्रसंघअन्तर्गत शरणार्थी निकायका प्रमुखले लेबनानमा करिब १० लाख मानिस विस्थापित भइसकेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल मानवीय सहयोगको अपिल गरेका छन्। उनका अनुसार द्वन्द्वका कारण करिब २० प्रतिशत जनसंख्या प्रभावित र विस्थापित भएका छन्, जसले मानवीय संकट गहिरिँदै गएको छ।






