Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ३ वैशाख २०८३ ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा समायोजन गर्न माग गरेको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात सञ्चालन खर्च बढेको भन्दै भाडा समायोजन आवश्यक भएको बताएको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा दुईपटक इन्धनमा भएको मूल्यवृद्धि र मध्यपूर्वको द्वन्द्वका कारण नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य पटक–पटक बढाइरहेको उल्लेख छ। यसले सार्वजनिक यातायात क्षेत्रको सञ्चालनमा कठिनाइ सिर्जना भएको महासंघको दाबी छ।

विज्ञप्तिमा सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधिअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा स्वचालित रूपमा भाडा समायोजन गरिनुपर्ने व्यवस्था स्मरण गराउँदै सोहीअनुसार भाडा समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरिएको छ।

महासंघले सदस्यहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालनमा हुने घाटा न्यूनीकरण गर्न पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया