Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ३ वैशाख २०८३ । बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडियाबाट ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।

विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी गतिविधिमा संलग्न गराइएको सूचना प्राप्त भएपछि दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाएको थियो। उद्धार गरिएका सबै नेपाली सुरक्षित रूपमा स्वदेश फर्किसकेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा परेर पछिल्ला वर्षहरूमा ठूलो संख्यामा नेपाली नागरिक कम्बोडिया पुग्ने क्रम बढ्दो छ। तथ्यांकअनुसार सन् २०२१ मा १०१ जना, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका छन्।

यसैबीच, दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्यान्डजस्ता देशहरूमा नजान सबैलाई आग्रह गरेको छ। विदेशी रोजगारीको नाममा ठगी तथा गैरकानुनी क्रियाकलापमा फस्ने जोखिम उच्च भएकाले सतर्क रहन पनि अनुरोध गरिएको छ।रासस

 

तपाईको प्रतिक्रिया