पोर्ट अउ प्रिन्स, २९ चैत २०८२ । हाइटीमा भएको भागदौडमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा अरू दर्जनौँ घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार, घटनापछि सरकारले अनुसन्धान अघि बढाएको छ ।
सरकारी अधिकारीहरूका अनुसार शनिबार मिलोटस्थित विश्व सम्पदा सूचीमा सूचीकृत १९औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’का क्रममा शनिबार भएको जनाएका छन् । कार्यक्रममा अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ ।
हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिकालाई दिएको जानकारीअनुसार कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ । उनले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतक सङ्ख्या बढ्न सक्ने बताए ।
घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक विवरणअनुसार पर्यटकहरू प्रवेशद्वारमा अत्यधिक जम्मा भएको थिए । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ । सोहीकारण भागदौड मच्चिएको हो ।
सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ । विज्ञप्तिमा सबै सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गरिएको उल्लेख गर्दै पीडितहरूलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको जनाइएको छ ।
हाइटी सरकारले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने थप विवरणहरू संकलन भइरहेका छन् । रासस/एएफपी






