Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, २८ चैत २०८२ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब श्रम स्वीकृति पत्रबाहेक अन्य भुक्तानीसम्बन्धी रसिद विमानस्थलमा पेस गर्न नपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले चैत २३ गते जारी गरेको सूचनापछि श्रमिकमा अन्योल बढेपछि अध्यागमन विभागले स्पष्टिकरण दिएको हो ।

यसअघि विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत थप कागजात पेस गर्नुपर्ने जनाएको थियो । तर अध्यागमन विभागले भने श्रम स्वीकृति र राहदानीजस्ता आधारभूत कागजातबाहेक अन्य कुनै बिल वा रसिद आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

“वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम कागजातबाहेक नेपाली श्रमिकले विदेश जाँदा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा रसिद पेस गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ,” विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

अध्यागमन विभागले विदेश यात्रा गर्ने नागरिकलाई भ्रममा नपर्न र गन्तव्य मुलुकसम्बन्धी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह गरेको छ ।

त्यस्तै, ‘भिजिट भिसा’मा विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित यात्रा गर्न सक्ने व्यवस्था यथावत रहेको विभागले जनाएको छ ।रासस

 

तपाईको प्रतिक्रिया