काठ्माडौं, २४ चैत २०८२ । अमेरिका र इरान सहमतितर्फ उन्मुख भइरहँदा चार कारणले वार्ता विथोलिएको जिकिर वार्ताकारहरूले गरेका छन् ।
वार्ताको मध्यस्थकर्ता पाकिस्तानका प्रतिनिधिहरूले चार कारणले वार्ता विथोलिएको प्रतिक्रिया अलजजिरालाई दिएका छन् ।
इजरायलले इरानी रेलमार्गमा गरेको हमला, इस्तानबुलमा इजरायली कन्सुलेटमा भएको आक्रमण, साउदीका तेल पूर्वाधारमा हमला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टले वार्ता विथोलिएको जिकिर उनीहरूले गरेका हुन् ।
पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै अलजजिरामा प्रकाशित विवरणमा भनिएको छ,ुुवार्ताको विथोल्ने मुख्य काम इजरायलबाट भयो,’इजरायलले अमेरिका युद्धबाट बाहिरियोस् भन्ने चाहेकै छैन । वार्ताका विरोधी इरानी र अमेरिकी पक्षले पनि वातावरण विथोल्न मलजल गरे ।’ इजरायल अनन्त युद्धको मनस्थितिमा रहेको ती पाकिस्तानी वार्ताकारको जिकिर छ ।
इरानले युद्ध अन्त्यका लागि १० बुँदे प्रस्ताव अमेरिकासँग राखेको छ। युद्धको मध्यस्थता गर्दै आएको पाकिस्तानमार्फत उसले १० बुँदे प्रस्ताव पठाएको अलजजिरामा समाचार प्रकाशित छ। सोमबार इस्लामावाद उक्त प्रस्तावसहित अमेरिकी पक्षसँग वार्तामा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरान र अमेरिकाबीच ४५ दिनसम्म युद्धविरामको प्रस्तावसहित इस्लामावाद निरन्तर संवादमा रहेको छ । यद्यपि इरान र अमेरिकी प्रतिनिधिबीच आपसी वार्ता भने नभएको जनाइएको छ । इरानले ४५ दिनको युद्धविराम नभएर युद्धको दीर्घकालीन अन्त्यको पक्षमा आफू रहेको जवाफ दिएको छ ।
इरानले स्ट्रेट अफ होर्मुजको निर्वाध सञ्चालनका लागि १० बुँदे सर्त मान्न अमेरिका तयार हुनुपर्ने अडान राखेको छ । इरानले आफूमाथिका प्रतिबन्ध हट्नुपर्ने, पुनर्निर्माण लागि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेको छ।
इरानको प्रस्तावबारे ट्रम्पले भनेका छन्,’उनीहरूले धेरै प्रस्ताव राखेका छन् । उनीहरूका प्रस्ताव राम्रा छैनन्। वार्ता भइरहेको छ । यदि इरान सहमतिमा आएन भने उनीहरूसँग केही पनि बच्ने छैन,”ट्रम्पको चेतावनी छ ।
अमेरिकाले इरानसँग सहमतिका लागि १५ बुँदे प्रस्ताव पठाएको छ । इरानको आणविक केन्द्र सम्पूर्ण रूपमा ध्वस्त पार्ने, क्षेप्यास्त्रमा सीमा तोक्ने र स्ट्रेट अफ होर्मुजमा इरानले कुनै पनि अवरोध पुर्याउन नपाउने सहितका सर्त अमेरिकाले राखेको हो ।
सर्तमा सहमत नभएर इरानको सभ्यता नै सखाप पार्ने धम्की ट्रम्पले दिएका छन् । ‘उक्त समयसीमा भित्र इरान सहमतिमा नआए पुरा सभ्यता सखाप हुनेगरी विध्वंसको चेतावनी ट्रम्पले आज दिएका हुन् । ‘आज राति पुरा सभ्यता नै विनास हुनसक्छ । कहिल्यै नफर्किने गरी । म चाहान्न त्यस्तो परिस्थिति आवस्,’ इरानलाई सहमतिको दबाबका लागि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
यता इरानले पनि अमेरिकासँग लड्नका लागि आफू तयार रहेको प्रतिक्रिया दिएको छ ।






