Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पोखरा, १४ फागुन । पोखरा । नक्कली सहसचिव बनेर ठगी गरेको आरोपमा ईलामका १७ वर्षीय किशोर पोखरामा पक्राउ परेका छन् । इलामका सन्देश रम्तेल निजी गाडी भाडामा लिएर त्यसमा सेतो प्लेट हाली प्रहरीको स्कर्टिङसमेत लिएर पोखरा आइपुगेका थिए । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कर्पियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

घटना भने होेटलको ३५ हजार बिल नतिरेपछि मात्रै सार्वजनिक भयो र उनलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । उनी पोखराको लेकसाइडस्थित तेन्जिङ हिलारी होटलमा बसेका थिए ।

रम्तेलले आफूलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भनेर चिनाउँदै आएका थिए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याए ।

उनले देखाएको परिचयपत्र पनि नक्कली भएको खुलेको छ । रम्तेलले परिचयपत्र वीरगञ्जमा बनाएका थिए । उनको बयानअनुसार तनहुँमा प्रहरीले स्कर्टिङसमेत गरेको थियो । १०० नम्बरमा फोन हानेर हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । उनी पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पनि पुगेका थिए ।

यतिमात्र होइन, उनले पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपनसमेत लिएका थिए । उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भनेर झुक्याएको र महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए । होटलको बिल तिर्ने बेलामा पनि रम्तेलले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले खातामा हालिदिने भन्दै उम्कन खोजेका थिए । तर, होटल मालिकले प्रहरीलाई खबर गरे र उनी पक्राउ परेका हुन् ।

रम्तेलसँगै उनका चालक बताउने संगम राई पनि प्रक्राउ परेका छन् । बाह्रखरीबाट साभार

तपाईको प्रतिक्रिया