Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काममा तीव्रता दिन मन्त्रालयलाई कडा निर्देशन

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि, भूमि, पशुपंक्षी, गरिबी निवारण लगायतका क्षेत्रमा मन्त्रालयहरुको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् ।

मुख्य गरी कृषिको क्षेत्रमा आवश्‍यकता अनुसार प्रगती नभएको समेत स्वीकार गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल कार्यक्रममा बोल्दै प्रधान्मन्त्री ओलीले केही प्रगति भएपनि आवश्‍यकता अनुसार नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन्।

उनले मुलुकको आवश्यक्ता अनुसार कृषी उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन दुबै मन्त्रालयलाई निर्देशन दिए। उनले भने, ‘केही नभएको होईन् र तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन। कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ।’

कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै प्रधानमन्त्री ओलीले भने, ’उनले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढनुपर्दछ।’

प्रधानमन्त्री ओलीले मुलुकका खाद्य अभाव नरहेको दाबी समेत गरे। मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको उनले बताए। उनले खाद्य वस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले आ-आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका थिए।

तपाईको प्रतिक्रिया