काठमाडौं, ९ चैत २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक रहेको भनेपछि इरानबाट त्यसको प्रतिक्रिया आएको छ ।
इरानी सरकारी र अर्ध–सरकारी सञ्चारमाध्यमहरूले ट्रम्पको घोषणालाई इरानको सम्भावित जवाफी कारबाहीको डरले पछाडि हट्न बाध्य भएको रूपमा चित्रण गरेका छन् ।
इरानका ऊर्जा र शक्ति केन्द्रहरूमा हुने कुनै पनि अमेरिकी आक्रमणको कडा जवाफ दिने तेहरानको चेतावनीपछि ट्रम्प हच्किएको दाबी इरानी पक्षको छ । सरकारी प्रसारक आईआरआईबीले भनेको छ, “इरानको जवाफदेखि डराएर ट्रम्प आफ्नो ४८ घण्टाको अल्टिमेटमबाट पछाडि हटेका छन् ।”
अमेरिका र इरानबीचको वार्ता ‘सकारात्मक’
ट्रम्पले इरानी ऊर्जा केन्द्रहरूमा हुने अमेरिकी आक्रमणलाई पाँच दिनका लागि स्थगन गर्ने प्रतिज्ञा गरे पनि उनले व्यापक ‘युद्धविराम’बारे उल्लेख गरेका छैनन् ।
सोमबार ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि फलदायी कुराकानी भएको घोषणा गरेलगत्तै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अमेरिकी सेयर बजार उकालो लागेको छ । यसले विश्व अर्थतन्त्रमा परिरहेको गम्भीर दबाबका बीच राष्ट्रपति ट्रम्पलाई केही राहत दिएको छ ।
बजारमा देखिएको प्रभाव र ओमानको मध्यस्थता
ट्रम्पले इरानी पूर्वाधारमा हुने आक्रमण स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएसँगै तेलको मूल्यमा भारी गिरावट आएको छ । सोमबार प्रतिब्यारेल ११० डलर नजिक पुगेको विश्वव्यापी बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य घटेर १०० डलरभन्दा तल झरेको छ ।
यसैबीच ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले सामाजिक सञ्जालमार्फत ओमानले हर्मोज जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न सघन रूपमा काम गरिरहेको जनाएका छन् । ओमानले लामो समयदेखि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ ।
ओमानका विदेशमन्त्री बुसैदीले भने, “इरानप्रति तपाईंको धारणा जेसुकै भए पनि, यो युद्ध उनीहरूले सुरु गरेका होइनन् । यसले पहिले नै व्यापक आर्थिक समस्याहरू निम्त्याइसकेको र यदि युद्ध जारी रह्यो भने स्थिति अझै भयावह हुने डर छ ।”






