Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १२ फागुन, संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ।

थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो।

संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो।

यसअघिको बैठकमा सुनुवाइ भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो। तर बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि आज निर्णय हुन सकेन।

त्यस्तै सुनुवाइ समितिले संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम मियाँ अन्सारीको विषयमा छानबिन गरिरहेको छ। समितिले उनको नागरिकता र सर्टि्फिकेट नक्कली रहेकोसम्बन्धी उजुरीमा छानबिन अगाडि बढाएको हो।

गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्षमा नाम सिफारिस गरेको थियो।

मधेशी आयोगको अध्यक्षमा सिफारिस विजयकुमार दत्त, थारू आयोगको अध्यक्षमा सिफारिस भएका विष्णुप्रसाद चौधरीको सुनुवाइ भने बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया