काठ्माडौं, ६ चैत २०८२ । इजरायलले रातको समयमा दक्षिणी लेबनानका धेरै स्थानहरूमा हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा धेरै मानिसहरू घाइते भएको अलजजिराले जनाएको छ ।
इजरायली लडाकु विमानहरूले बिहानको समयमा विभिन्न सहरहरूलाई निशाना बनाएका थिए । यसबाहेक दक्षिणी लेबनानका अन्य पाँचवटा सहरहरूमा पनि आक्रमण गरिएको छ । पछिल्लो दुईदिनमा इजरायलले बेरुत, पूर्वी क्षेत्रको बालबेक र दक्षिणको सिडोन सहरमा पनि हवाई आक्रमण गरेको छ ।
यसैबीच लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, २ मार्चदेखि यता इजरायली आक्रमणमा एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृतकहरूमध्ये ७९ जना महिला, ११८ जना बालबालिका र ४० जना स्वास्थ्यकर्मी पनि छन् ।
यसका साथै दुई हजार ५८४ जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् । लगातार भइरहेका यी आक्रमणका कारण लेबनानमा परिस्थिति तनावपूर्ण बनेको छ । मानव अधिकार समूह तथा संयुक्त राष्ट्रसंघले इजरायली बम आक्रमणका घटनालाई नरसंहारजन्य अपराधको प्रकृतिको रहेको बताएका छन् ।
फेब्रुअरी २८ मा इरानविरुद्धको अमेरिकी–इजरायली युद्धको पहिलो दिन इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्युपछि प्रतिक्रियास्वरूप लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेसँगै मार्चको सुरुदेखि लेबनानमा इजरायली आक्रमणहरू तीव्र भएका थिए ।
इजरायली बमबारीका कारण देशको दक्षिणी भाग र राजधानी बेरुतका धेरै क्षेत्रहरूबाट १० लाखभन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् । इजरायली सेनाले आवासीय भवनहरू र अन्य पूर्वाधारहरूमा बमबारी गरेको छ । साथै दक्षिणी लेबनानमा स्थलगत सैन्य कारबाहीलाई पनि विस्तार गरेको जनाएको छ । इजरायलले यो अभियान हिजबुल्लाहलाई निशाना बनाउनका लागि गरिएको दाबी गरेको छ ।






