Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाण्डौं, १२ फागुन । काँग्रेसलाई महासमिति बैठकले पारित गरेका केही प्रावधानहरुमा सहमति जुटाउन सकस परेपछि बहुमतबाट विधान अनुमोदनको तयारी भएको छ ।

सहमति जुटाउन सभापति देउवाले शनिबार गरेको प्रयाससमेत सफल हुन नसकेपछि अन्ततः बहुमतकै आधारमा विधान अनुमोदन हुने भएको हो ।

महासमितिले पारित गरेका विषयहरु केन्द्रीय समितिले अनुमोदन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा नेताहरुबीच मत बाझिँदा पार्टी विधान बहुमतका आधारमा अनुमोदन गर्ने तयारी संस्थापन पक्षको छ ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलापक्ष संस्थापन पक्षको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोध गर्ने तयारीमा लागेको बुझिएको छ ।

महासमितिका दस्तावेजलाई अन्तिम रुप दिन आज काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएको छ ।

गत बिहीबार बोलाइएको बैठक नेताहरुबीच विवाद हुँदा सहमति जुटाउने भन्दै आइतबारलाई सारिएको थियो ।

‘सभापतिजीले महासमितिमै प्रतिवद्धता जनाएको विषयबाट पछि हटेर बहुमतका आधारमा अघि बढ्न खोज्दै हुनुहुन्छ । हामीलाई त्यो मान्य छैन । यदि बहुमतकै आधारमा निर्णय गर्ने हो भने किन अरु प्रकृयाहरुमा जानु ?,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उहाँको यस्तो तरिकाले पार्टीलाई हित गर्दैन र स्वयम् सभापतिलाई पनि ।’

गत पुसमा सम्पन्न महासमिति बैठककमा जिल्ला सभापतिहरुले अघि सारेको माग केन्द्रीय समितिमा रहेका नेताहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाट निर्वा्चित भएर आउनुपर्ने विषय समावेश गरिएको थियो ।

आजको बैठकमा पार्टी विधान सर्वसम्मत रुपमा अनुमोदन गर्न प्रयास हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

त्यस्तै शर्माले महासमितबाट पारित दस्तावेजहरुलाई टुङग्याउने बैठककको एजेण्डा भएकाले अन्य विषयमा आज छलफल नहुने बताए । काँग्रेसमा आन्तरिक नियमावली बनाउन कमिटी गठनका विषय र नेविसंघको तदर्थ समिति बनाउने विषयमा पनि विवाद छ ।

उता, सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलले बहुमतका आधारमा नभई सहमतिकै आधारमा विधान अनुमोदन गर्नुपर्ने बताए । काँग्रेस स्रोतका अनुसार सभापति देउवापक्षकै नेताहरु विधान सर्वसम्मत या बहुमत कुन प्रकृयाबाट पारित गर्ने भन्नेमा विवादीत छन् ।

यता, विधान मस्यौदा समितिका संयोजक पूर्ण बहादुर खड्काले तत्कालका लागि यो विषय नै थाति राखेर अघि बढ्ने मध्यमार्गी प्रस्ताव गरेकाले आजको बैठकमा यसबारेसमेत छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया