Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ५ चैत २०८२ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि एकपटक बढेको छ । पश्चिम एसियाको ऊर्जा पूर्वाधारमा भएको आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नाघेको छ । इजरायल–इरानले एकअर्काका ग्यास क्षेत्रमाथि आक्रमण गरिरहेका छन् । यो आक्रमणले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा लामो समयसम्म अवरोध पुर्‍याउने आशंका बढाएपछि ग्यास र तेलको मूल्य पुनः बढेको हो ।

कतारले बिहीबार बिहान इरानी ब्यालिस्टिक मिसाइलले आफ्नो ग्यास केन्द्र रसलाफान औद्योगिक क्षेत्रमा व्यापक क्षति पुर्‍याएको बताएको छ । यी प्रहार इरानको ठूलो ग्यास फिल्ड ‘साउथ पार्स’मा भएको इजरायली आक्रमणको बदलामा गरिएका हुन् ।

यो घटनापछि इरानी राष्ट्रपतिले पूरै विश्वले अनियन्त्रित परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले अब साउथ पार्समा थप आक्रमण नगर्ने बताएका छन् । तर, कतारको ग्यास संरचनामा पुनः आक्रमण भएमा अमेरिकाले पूरै ग्यास फिल्ड ध्वस्त पारिदिने धम्कीसमेत दिएका छन् ।

विश्वव्यापी तेलको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतले बढेर प्रतिब्यारेल ११६ डलर पुगेको छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरी युद्ध सुरु गरेयता कच्चा तेलको मूल्य करिब ६० प्रतिशतले बढिसकेको छ ।

युरोपेली ग्यासको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ । युरोपेली प्राकृतिक ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

डच थोक ग्यासको मूल्य २४ प्रतिशतले बढेर ६८ युरो प्रतिमेगावाट आवर पुगेको छ, जुन डिसेम्बर २०२२ यताकै उच्च हो । बेलायतमा ग्यासको मूल्य फेब्रुअरीको अन्त्यदेखि दोब्बरभन्दा बढी भएको छ । यसले उपभोक्ताहरूको बिल बढाउने निश्चित छ ।

बिहीबार बिहान बेलायती थोक ग्यासको मूल्य २३ प्रतिशतले बढेर १७२ पेन्स प्रतिथर्म पुगेको छ, जुन अगस्ट २०२२ यताकै उच्च स्तर हो ।

बजारको प्रतिक्रिया र सेयर बजारमा गिरावट

सेयर मार्केटका व्यापारीले पश्चिम एसियामा बढ्दो तनावप्रति तीव्र प्रतिक्रिया जनाइरहेका छन् ।

तेल र ग्यासको मूल्यमा भएको यो वृद्धिले विश्वभरको सेयर बजारमा गिरावट ल्याएको छ । जापानको निक्केई ३.४ प्रतिशत, दक्षिण कोरियाको कोस्पी २.७ प्रतिशत र हङकङको ह्याङ सेङ २ प्रतिशतले घटेका छन् ।

बेलायतको एफ टीएसई १०० १.७ प्रतिशत, जर्मनीका ड्याक्स २.३ प्रतिशत र फ्रान्सको सीएसी १.७ प्रतिशतले ओरालो लागेका छन् ।

 

तपाईको प्रतिक्रिया