Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ४ चैत २०८२ । इजरायलको घोषणालाई पुष्टि गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले आफ्ना सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको बताएका छन् ।

यसअघि इरानी सञ्चारमाध्यमका केही रिपोर्टहरूले लारिजानी जीवितै रहेको र चाँडै उनको सन्देश जारी हुने बताएका थिए ।

लारिजानी इरानको सुरक्षा र विदेश नीतिमा अत्यन्तै महत्त्वपूर्ण व्यक्ति हुन् । उनी इरानका एक अत्यन्त प्रभावशाली र अनुभवी नेता हुन् ।

उनी इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव थिए । यो इरानको सबैभन्दा शक्तिशाली सुरक्षा निकाय हो, जसले रक्षा, आणविक नीति र रणनीतिक निर्णयहरू सम्हाल्छ ।

नयाँ सर्वोच्च नेता मुजतबा खामेनीको अनुपस्थितिमा लारिजानीलाई ‘नम्बर २’ मानिँदै आएको थियो । उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले यस पदमा नियुक्त गरेका थिए ।

यसअघि उनी पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीका प्रतिनिधि र सल्लाहकार थिए ।

लारिजानीको जन्म सन् १९५७ मा इराकको नजफमा भएको थियो । उनको परिवारको इरानी राजनीतिमा लामो इतिहास छ । उनका पिता एक प्रमुख शिया धर्मगुरु थिए, जो इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खुमेनीका निकट थिए । लारिजानीले तेहरान विश्वविद्यालयबाट पश्चिमी दर्शनमा पीएचडी गरेका छन् ।

धेरै उच्च पदहरूमा रहेका व्यक्ति
उनले इरान–इराक युद्धमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्समा सेवा गरेका थिए । पछि सन् १९९४ देखि १० वर्षसम्म इरानको सरकारी प्रसारण संस्था आईआरआईबीका प्रमुख रहे । सन् २००८ देखि २०२० सम्म १२ वर्ष इरानको संसद ‘मजलिस’का सभामुख रहे ।

सन् २००५–२००७ मा उनी सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव र आणविक वार्ताकार पनि थिए । उनले सन् २००५ मा राष्ट्रपति चुनाव लडेका थिए । तर, महमुद अहमदिनेजादसँग पराजित भए । सन् २०२१ र २०२४ मा उनलाई चुनाव लड्न अयोग्य घोषित गरिएको थियो ।

अमेरिकाले लारिजानीलाई विरोध प्रदर्शनहरू दबाउन संलग्न भएको आरोपमा गत जनवरीमा प्रतिबन्ध लगाएको थियो । अधिकारवादी समूहहरूका अनुसार ती प्रदर्शनहरूमा हजारौँ मानिस मारिएका थिए ।

यस युद्धमा उनको भूमिका
हालैको पश्चिम एसियायुद्ध सुरु भएपछि लारिजानी निकै सक्रिय भएका थिए । नयाँ सर्वोच्च नेता मुजतबा खामेनी सार्वजनिक रूपमा कम देखिएका छन् । तर, लारिजानी र्‍यालीहरूमा देखिए, भीडसँगै हिँडे र इजरायल–अमेरिकाविरुद्ध कडा बयानहरू दिए ।

उनी विचारधारा र व्यवहारिक कूटनीतिबीच सन्तुलन मिलाउन माहिर मानिन्छन् । उनी सन् २०१५ को आणविक सम्झौताका समर्थक थिए, तर अमेरिका बाहिरिएपछि पनि वार्ताको वकालत गरिरहे ।

हालै उनले चेतावनी दिएका थिए, कि यदि दबाब बढ्यो भने इरान आणविक हतियारतर्फ जानुपर्ने हुन सक्छ, यद्यपि उनी इरान हतियार बनाउन चाहँदैन भन्छन् ।

लारिजानी कुनै सैन्य कमान्डर थिएनन्, तर इरानका रणनीतिक निर्णयहरूलाई आकार दिन उनी एक केन्द्रीय पात्र थिए । सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिवका रूपमा उनी युद्ध, कूटनीति तथा राष्ट्रिय सुरक्षासम्बन्धी निर्णय प्रक्रियाको केन्द्रमा थिए ।
विशेषगरी अमेरिका र इजरायलसँगको टकराव व्यवस्थापन गर्ने सन्दर्भमा इरानको प्रणालीभित्र उनको आवाजको ठूलो वजन थियो ।

केही हप्ताभित्रै इरानका कैयौँ वरिष्ठ अधिकारी र कमान्डरहरू मारिएको समयमा उनको मृत्यु भएको छ । यो ढाँचाले युद्धका क्रममा इरानको नेतृत्व संरचनालाई कमजोर बनाउन निरन्तर प्रयास भइरहेको संकेत गर्ने बीबीसीले जनाएको छ ।

पश्चिमा राष्ट्रहरूप्रति कडा अडान राखे पनि इरानभित्र लारिजानीलाई अक्सर एक व्यवहारवादी नेताका रूपमा चित्रण गरिन्थ्यो । उनले वैचारिक निष्ठालाई प्राविधिक विशेषज्ञतासँग जोडेका थिए । खोक्रो भाषणबाजीभन्दा पनि नतिजामुखी रणनीतिका पक्षपाति थिए ।

आक्रमणको दाबी भयो पुष्टि
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले मंगलबार इजरायली सेनाले राति इरानमाथि हमला गर्दै अली लारिजानीलाई निशाना बनाएर उनलाई मारेको दाबी गरेका थिए । इजरायलले रातभर गरेको हवाई आक्रमणमा उनी लुकेको स्थानमा प्रहार गरिएको बताएको थियो । उक्त आक्रमणमा लारिजानीका छोरा मोर्तजा, अलीरेजा बयात र केही अंगरक्षकहरूसमेत मारिएका छन् ।

इजरायली सञ्चारमाध्यम तथा बीबीसी, रोयटर्स, अल जजिरा र न्यूयोर्क टाइम्सजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि यो दाबीलाई समाचार बनाएका थिए । इजरायलले सोही हमलामा इरानको ‘बसिज मिलिसिया’ का प्रमुख गोलमरेजा सुलेमानी पनि मारिएको जनाएको थियो ।

बसिज मिलिसियाका नेता गोलमरेजा सुलेमानी मारिएको इरानले यसअघि नै स्वीकार गरिसकेको छ ।

इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित फार्स न्युज एजेन्सीलगायत इरानी सञ्चारमाध्यमहरूले लारिजानी पर्दिसस्थित आफ्नी छोरीको घरमा मारिएको रिपोर्ट गरेका थिए । तर, जानकार स्रोतहरूले यसलाई अस्वीकार गरेका छन् । यससँगै इरानले सबैभन्दा अनुभवी र प्रभावशाली नीति–निर्मातामध्ये एकलाई अत्यन्त संवेदनशील मोडमा गुमाएको छ ।

उनको मृत्युले के असर पर्ला ?
यो इरानका लागि ठूलो धक्का हो । उनी त्यस्ता नेता थिए, जसले विचारधारासँगै कूटनीति अघि बढाउँथे र प्रणालीलाई राम्रोसँग बुझ्थे ।

उनको मृत्युले इरानको सुरक्षा र विदेश नीतिमा असर पार्न सक्छ । तर, उनी जीवित रहे पनि इजरायल र अमेरिकाका लागि चुनौतीहरू कम हुने छैनन् ।

विश्वको नजर इरानको आधिकारिक प्रतिक्रियातर्फ केन्द्रित छ । यदि, उनी जीवित रहेको पुष्टि भयो भने यसले इजरायलको दाबीलाई झुटो साबित गरिदिनेछ र यसले युद्धमा नयाँ मोड ल्याउन सक्छ ।बीबीसी

 

तपाईको प्रतिक्रिया