काठमाडौं, १ चैत २०८२ । इरानले होर्मुज जलमार्ग खुला भएको बताएको छ । इरानी विदेश मन्त्री अब्बास अराघ्चीले होर्मुज जलमार्ग केवल अमेरिका–इजरायलका जहाज तथा ट्यांकरका लागि बन्द गरिएको बताएका छन् ।
“होर्मुज जलमार्ग खुला छ,” अराघ्चीले भनेका छन्, “यो केवल हाम्रा शत्रुहरूका ट्यांकर र जहाजका लागि मात्र बन्द गरिएको हो । जसले हामीमाथि आक्रमण गरिरहेका छन् र जो उनीहरूका सहयोगी छन्, अर्थात्, तिनीहरूका लागि मात्रै बन्द गरिएको हो । बाँकी सबैलाई आवतजावत गर्ने स्वतन्त्रता छ ।”
उनले सुरक्षा चिन्ताका कारण धेरै जहाज आफैँ जान नचाहेको र यसमा इरान कारण नभएको दाबी गरे ।
अहिले पनि धेरैजसो ट्यांकर र जहाज होर्मुजबाट गुज्रिरहेका छन् भने कतिपय यस समुद्री मार्गमा फसेका छन् ।
होर्मुज जलमार्ग ओमान–इरानको बीचमा पर्छ । यो जलमार्ग जम्मा ३३ किलोमिटर चौडा छ । विश्वको कुल तेलको करिब एक–पाँच भाग दैनिक यही मार्ग हुँदै गुज्रिन्छ । साथै, खाडी मुलुकबाट निस्कने अधिकांश तेल पनि होर्मुजबाटै पास हुन्छ ।
यो नाका बन्द भएमा विश्वभर ऊर्जा संकट आउन सक्ने र तेलको मूल्य पनि अत्यधिक बढ्न सक्ने आकलन गरिएको छ ।
सैन्य सहयोगसम्बन्धी प्रश्नमा इरानी विदेशमन्त्री अराघ्चीले रुस र चीन आफ्ना रणनीतिक साझेदार भएको बताएका छन् । उनले भनेका छन्, “उनीहरूसँग इरानको पहिलेदेखि नै सैन्य सहयोगसहितको निकट सम्बन्ध छ । र, यो जारी रहन्छ ।”
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक होर्मुज नाकामा आवागमनमा अवरोध पुर्याए इरानको तेल संरचना ध्वस्त पारिदिने चेतावनी दिँदै आएका छन् ।
तेल संरचनामा अहिलेसम्म अमेरिकाले आक्रमण नगरेको तर इरानले होर्मुजमा अवरोध पुर्याए त्यसलाई सिध्याइदिने ट्रम्पको चेतावनी छ । ट्रम्पका अनुसार, शनिबार अमरिकाले खार्ग टापुस्थित मुख्य तेल निर्यात टर्मिनलमा आक्रमण गरेको दाबी गरेको छ । अमेरिकाले इरानी जहाजलाई समुद्रबाट बाहिर निकाल्ने क्रम जारी राख्ने र तटीय क्षेत्रमा बमबारी गरिरहने ट्रम्पले बताए ।
ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत बेलायतसहित धेरै देशलाई हर्मोज खुला राख्न युद्धपोत पठाउन अपिलसमेत गरेका छन् । उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशहरूले जहाज पठाउने आशा व्यक्त गरे ।






