Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ६ फागुन । सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो ।

निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण/विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।

टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको छ । सोमबार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो ।

दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत बैशाख १५ मुलुकभर नै एनालग टीभी बन्द गर्न भनेको थियो ।

सबै टेलिभिजन सेवा प्रदायकले अनिवार्यरुपमा डिजिटाइजेशनमा जान अनुमति लिएर अपग्रेड हुनैपर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारवाही गर्ने उनले चेतावनी दिए । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेट-टप बक्सको सेवा शुल्क फरक-फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

यसका लागि केबल टीभी अपरेटरले भने आˆनो हेड-इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिर्नुपर्छ ।

महंगो परेपनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् ।

यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो ।

डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने बाँकी छ ।

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता तिवारी बताउँछन् ।

यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दावी सरकारको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

पूर्णरुपमा डिजिटाइजेशन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजश्वमा पनि भारी वृद्धि हुने अपेक्षा छ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने अपेक्षा सराकारको छ ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा रहेको अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजश्व भरेका छैनन् ।

एनागल बन्द भएर डिजिटाइजेशन भएपछि वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।

डिजिटल प्रविधिको टिभीले गुणस्तरीय अडियो र भिडियो सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ ।

तपाईको प्रतिक्रिया