Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, ३ फागुन । जिल्ला शिक्षा समन्वय इकाइ सुनसरीको कार्यालयमा नेपाली सेनाको गण राख्ने तयारी सुरु गरिएको छ। शिक्षा तालिम केन्द्र प्रदेश १ को कार्यालय समेत रहेको सुनसरी सदरमुकाम इनरुवामा नेपाली सेनाले गण राख्ने भएपछि सरोकारवालाले विरोध जनाएका छन्।

शिक्षाजस्तो पवित्र कार्यालयमा नेपाली सेनाको गण स्थापना गर्दा गलत सन्देश जाने बताउँदै सरोकारले विरोध जनाएका हुन् । सुनसरीमा सेनाले गण स्थापनाका लागि इनरुवामा जग्गा खरिद गर्न नसकेपछि शिक्षा कार्यालय भएको स्थानमा गण स्थापनाको तयारी गरेको छ।

शिक्षा कार्यालय र तालिम केन्द्रको अस्तित्व समाप्त गर्ने गरी सेनाले गण स्थापनाका लागि पहल सुरु गरेको छ। नेपाली सेनाको टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित शिक्षा कार्यालय भएको स्थानको अबलोकन गरी गण राख्न उचित हुने भएको भन्दै पहल गर्न रक्षा मन्त्रालयमार्फत, शिक्षा र गृहमनत्रालय संग स्विकृतका लागि पहल थालेको समेत बुझिएको छ।

सेनाले इनरुवामा गण स्थापनाका लागि जग्गा खरिद गर्दा ठूलो रकम आर्थिक चलखेल गरी भष्ट्रचार गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जग्गा खरिद प्रक्रिया रोकेको छ। प्रदेश १ को मातहतमा रहेको शिक्षा तालिम केन्द्रको जग्गामा केन्द्र सरकारको मातहतमा रहेको सेनाको गण राख्न नहुने सुनसरीका शिक्षक संघ संगठनका प्रतिनिधिले समेत विरोध जनाएका छन्।

शिक्षा शदन उच्च मावि धरानकी शिक्षक बेणु काफ्लेले शिक्षा जस्तो पवित्र कार्यालयमा सेनाको गण स्थापना गर्न नहुने बताएकी छन्। उनले सेनाको गण राख्नुभन्दा पहिला शिक्षा तालिक केन्द्र कार्यालय र शिक्षा समन्वय इकाई कार्यालयको व्यवस्थापन गर्नुपर्ने बताइन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शिक्षा कार्यालय रहेको स्थानमा सेनाले गण राख्न उचित स्थान ठानेर पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेकोले सरोकारवालासँग छलफल सुरु गरेको बताए। उनले इनरुवामा रहेको खानेपानी संस्थानको कार्यालयमा सेनाको गुल्म द्वन्द्वकालदेखि बसेकाले यसको व्यवस्थापनका लागि सेनाले उचित स्थानमा गणस्थापनाका लागि अध्ययन थालेको उनको भनाई छ। शिक्षा कार्यालय भएको स्थानमा सेनाको गण राख्ने निर्णय भने भैनसकेको उप्रेतीले बताए।

अन्नपूर्णपोष्टबाटशाभार

तपाईको प्रतिक्रिया