Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

भद्रपुर, ३ फागुन । अढाई वर्षीय बालक हराएको ५ महिनापछि परिवारको जिम्मा लगाइएको छ । झापा भद्रपुर–५ का अढाई वर्षीय बालक लक्ष्मण यादवलाई भारतको सिलिगुडी जिल्ला (सिभिल)अस्पतालबाट फेला पारी जिम्मा लगाइएको हो ।

घटना विवरणअनुसार गत २०७५ जेठ १६ मा जन्मेका बालक यादवलाई उनका बुबा सोमनाथ र आमा रावरीले भदौमा भारतको किसनगञ्ज आफन्तकोमा लिएर गएका थिए । केही दिनको बसाइपछि भदौ ९ गते किसनगञ्जबाट डेमो रेल चढी नेपाल फर्किएका थिए । भारतको गलगलिया रेल स्टेशनमा ओर्लिने क्रममा बालक रेलमा छुटेको थियो । घटनापछि हराएकै भोलिपल्ट (भदौ १० गते) भारतको सिभिल हस्पिटलमा बालक रहेको भन्ने परिवारले पत्ता लगाएका थिए ।

बालकलाई भारतीय प्रहरीले बिना प्रमाण नेपाल ल्याउन नदिएपछि यादवले जन्म, विवाह दर्ता, नाता प्रमाणित, नेपाल प्रहरीको सिफारिस लिएर जाँदा पनि भारतीय प्रहरीले परिवारलाई बालक जिम्मा दिएन । त्यसपछि झापामा रहेको साना हात नामक संस्थालाई घटनाको बारेमा परिवारले जानकारी गराएका थिए । साना हातको सहयोगमा जिल्ला प्रशासन कार्यालय झापाले कलकत्तामा रहेको नेपाली वाणिज्य दूतावाससँग समन्वय गरेको थियो ।

समन्वयपश्चात् हस्पिटलले बाल कल्याणमा जिम्मा लगाएको थियो भने बाल कल्याणले दूतावासका कर्मचारी सतिश थापालाई जिम्मा लगाएको थियो । दूतावासले बुधबार साना हातमार्फत् बालक जिम्मा लगाएको थियो ।

साना हातले बिहीबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरको रोहवरमा परिवारलाई जिम्मा लगाइएको साना हातका भद्रपुरका स्टेशन मेनेजर विक्रम वाग्लेले जनाए । हराएको भोलिपल्टै बालक फेला परे पनि दुई देशको कानून बाझिएकोले यति लामो समय लागेको वाग्लेले बताए ।

यी बालकसँगै नेपालका बालबालिकाहरू भारतका विभिन्न संस्थाहरूमा परिवारविहीन भएकोले नेपाल सरकारले ध्यान दिनुपर्ने उनले अनुरोध गरेका छन् । साना हातले बालकलाई वडा प्रहरीमा जिम्मा लगाएकोले प्रहरीको रोहवरमा परिवारलाई जिम्मा लगाइएको वडाका इन्स्पेक्टर यामकुमार श्रेष्ठले बताए ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया