Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

 झापा– करिब आठ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउँदै आएको झापाको कन्काई नहरमा थप सुधारको कार्य शुरु गरिएको कन्काई सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय गैडेले जनाएको छ ।

नेपालकै सबैभन्दा उत्कृष्ट मानिएको कन्काई नहरमा थप सुधारको कार्य शुरु भएको हो । चार दशक अघि निर्माण भएको सो नहर त्यस क्षेत्रका जनताका लागि आयआर्जन, खाद्यान्नमा आत्मनिर्भर, उत्पादनमा विविधता र रोजगारीको प्रमुख आधार बनेको छ ।

यस वर्षको वर्षा र बाढीले नहरको केही स्थानमा क्षति पुर्याएको हुँदा त्यस्ता स्थानमा उपभोक्ता समितिको सक्रियतामा कार्यालयले मर्मतसम्भार गरिएको डिभिजन प्रमुख वीरेन्द्र यादवले बताए ।

किसानको सिँचाइ व्यवस्थापनको मागलाई पूरा गर्न क्षति पु¥याएको स्थानमा तत्काल बालुवा र बोराको प्रयोग गरी संरचना निर्माण गरिएको छ तर यसलाई दिगोपना दिन सरकारले थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको प्रमुख यादवले जानकारी दिए ।

नहरको पहुँचभित्र रहेका पाँच कमल खोला र ढ्यांग्रीको बीचमा रु चार लाख ७५ हजार ५३५ को लागतमा १४५ मिटर, जनता चोक देखि ३०० मिटर तल नहर र सर्विस रोड बचाऊ कार्यमा रु चार लाख ७६ हजार १८२, कमल खोला पुलको बचाऊ कार्यमा रु चार लाख ७५ हजार ७०२, सत्तासी खोलामा नहर संरचना बचाऊ कार्यमा रु चार लाख ६० हजार ७५३ तथा मूल नहरका सर्भिस रोडमा खाल्डाखुल्डी मर्मत कार्यमा रु चार लाख ७५ हजार ९२० खर्च गरिएको नहरका इञ्जिनियर ललन बैठाले बताए ।

पाँच हजार ७०० घरधुरी आश्रित भएको यो नहरमा कन्काई नदीबाट आउने पानीमा बालुवा नआउनु र पहाड एवं हिमाल क्षेत्रबाट बगेर आउने मलयुक्त पानी खेतमा पुग्ने भएकाले किसान निकै हर्षित रहेको कन्काई नहर जल उपभोक्ता समितिका अध्यक्ष कमलप्रसाद भण्डारीले बताए ।

सो समितिका सचिव नेत्र पोखरेलले सुक्खा एवं नहरमा पानी कम भएको समयमा पनि आलोपालो गरेर सिँचाइ गर्ने भएकाले उपभोक्ताबीच कुनै समस्या नरहेको बताउँदै नहरका कारण समयमै खेती गर्न सहज भएको प्रतिक्रिया दिए । ।

अहिले नहरलाई थप सुदृढ एवं व्यवस्थापन गर्न डिभिजनले कार्यालयले रु एक करोड १४ लाख ७७ हजार लागतमा तीन वटा निर्माण कम्पनीसँग सम्झौता गरी काम थालनी गर्ने प्रक्रिया अगाडी बढाएको प्रमुख यादवले बताए ।

तपाईको प्रतिक्रिया