काठ्माडौं, १८ भदौ २०८२ । हैजा सुन्नासाथ धेरैलाई लाग्न सक्छ, यो सामान्य झाडापखाला हो । तर हैजा कति जटिल रोग हो भन्ने कुरा अस्पतालमा भर्ना भएका बिरामीको अवस्थाले स्पष्ट पार्छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा उपचाररत ६ जना बिरामीले यतिबेला मृत्युसँग संघर्ष गरिरहेका छन् । तीमध्ये तीनजनाको निरन्तर डायलाइसिस गर्नुपरेको छ । यसको कारण हो-हैजाले निम्त्याएको गम्भीर जटिलता ।
झाडापखाला लागेर अस्पताल भर्ना भएका ४० र ५० वर्षीय पुरुष र ३५ वर्षीय महिलाको मिर्गौलाले काम गर्न छोडेर डायलाइसिस गराइरहेका छन् ।
तीनैजना बिरामीको शरीरमा युरिया र क्रियाटिनिनको मात्रा अस्वाभाविक रूपमा बढेको थियो । पिसाब बन्द जस्तै भएको थियो । जीवन जोगाउन तत्काल डायलाइसिस सुरु गर्नुपर्यो ।
अस्पतालका प्रवक्ता तथा उपचारमा संलग्न चिकित्सक उदयनारायण सिंहका अनुसार हैजाले जटिलता निम्त्याउँदा शरीरमा पानीको मात्रा कम (डिहाइड्रेसन) भएपछि मिर्गौलामा समस्या देखिएको हो ।
डा। सिंह भन्छन्, ‘हैजा संक्रमितमा सिभियर डिहाइड्रेसन हुँदा शरीरमा पानीको कमी हुन्छ । जसका कारण मिर्गौलामा जानुपर्ने रगत कम हुन्छ र मिर्गौला फेल हुन्छ । यसलाई हामी एक्युट किड्नी इन्जुरी भन्छौं ।’
मिर्गौला फेल भएपछि शरीरमा युरिया र क्रिएटिनिन बढ्ने र मिर्गौलाले पिसाब कम गर्ने वा बन्द पनि हुने अवस्था आउँछ । यस्तो अवस्थामा ज्यान बचाउनका लागि डायलाइसिस गर्नुपर्ने हुन्छ ।
डा. सिंहका अनुसार तीनपल्ट डायलाइसिस गरेपछि भने उनीहरूको शरीरले विस्तारै प्रतिक्रिया जनाउन थालेको छ । थोरै-थोरै पिसाब आउन थालेको छ ।
विज्ञका अनुसार हैजाबाट बचेर निको हुने अधिकांशलाई दीर्घकालीन असर भने हुँदैन । तर मिर्गौलामा एकपटक गम्भीर क्षति गर्दा कहिँलेकाहीँ जटिलता निम्त्याउन सक्छ ।
डा। सिंह भन्छन्, ‘अहिलेसम्मको संकेत हेर्दा डाइलाइसिस गराएका मानिसको मिर्गौला फेरि सामान्यतर्फ फर्किन सक्छ भन्ने आशा छ । त्यसका लागि अझै केही दिन पर्खिनुपर्छ ।’
हैजाबाट निको हुने धेरैलाई शारीरिक असरसँगै मानसिक असर लामो समय रहन्छ । आईसीयूमा भर्ना भएका वा मृत्यु नजिक पुगेका बिरामीले साइकोलोजिकल तनाव भोग्नुपर्ने सम्भावना बढी हुन्छ । जसका कारण शरीरमा दीर्घकालीन असर नदेखिए पनि एक प्रकारको मानसिक तनाव रहिरहन सक्छ ।






