काठमाडौं, १६ भदौ २०८२ । भारतको गुहाटीमा भएको पाँच खेल सम्मिलित टी-२० सिरिजमा नेपाल ुएुले आसाम क्रिकेट एशोसियसनलाई हराएको छ। अन्तिम खेलमा नेपाल ‘ए’ले आसामलाई ४४ रनले हराउँदै पाँच खेल सम्मिलित सिरिज ३–२ ले जितेको हो।
सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। नेपाल ‘ए’ले दिएको २०९ रनको विजयी लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो।
आसामका लागि भारगव प्रितम लाहकरले सर्वाधिक २९ रन बनाए। उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे। आसामका ओपनरद्वय ऋषिकेश तामुली र सुमित घडिअन्करले क्रमशः १७ र २५ रन बनाए। सौरश मौसमले १७, निहार देकाले १४ रन बनाउँदा साहिल जैनले २५ रन बनाए।
नेपालका लागि बलिङतर्फ अकाश चन्द, शेर मल्ल र पवन सरार्फले २–२ विकेट लिए। वसिर अहमद र आदिल आलमले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। उनले ३९ बलमा २ चौका र ५ छक्का प्रहार गरे। ओपनर इशान पाण्डेले ३२, कप्तान अनिल शाहले ११, शुभ कंसाकारले ४१ रन बनाउँदा आदिल आलम २५ र पवन सरार्फ ७ रनमा अविजित रहे।
आसामका लागि बलिङतर्फ अयुष्मान मालाकार र अभिनव चौधरीले २–२ विकेट लिए।
सिरिजको पहिलो खेलमा डीएल पद्धतिमा १५ रनले नेपाल पराजित भएको थियो । दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले जित निकालेको नेपालले चौथो खेलमा १८ रनको हार बेहोरेको थियो।






