Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौं, १३ भदौ २०८२ । पछिल्लो सयम स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा स्क्रब टाइफसका बिरामी बढ्दैगएको अस्पतालमा निर्देशक डा। युवानिधि बसौला बताउनुहुन्छ।

अस्पतालमा दैनिक १० जनाभन्दा बढी बिरामी स्क्रब टाइफस भएर आउने गर्छन् । धादिङ, नुवाकोट, चितवनबाट स्क्रब टाइफसका अस्पतालमा बिरामी आउने डा। बसौलाको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार पुस यता देशभरबाट पाँच हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ।

पानी पर्ने मौसममा यो रोग बढी देखिने महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार पुस यता प्राय सबै जिल्लाबाट रोग पहिचान भए पनि चितवन, दाङ, सङ्खुवासभा, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लामा यो रोग बढी पुष्टि भएको दाहालको भनाइ छ। घाँस, पराल लगायत भएको ठाउँमा यो रोगको सङ्क्रमण बढी देखिनेगर्छ ।

सहरी क्षेत्रमा प्राय पार्क, दुबो भएको ठाउँमा खाली खुट्टाले हिड्ने मानिसमा यो रोग सर्ने सम्भावना उच्च हुन्छ । डा। दाहालका अनुसार दुबो वा घाँसमा खाली खुट्टा हिड्दा यो सर्ने गर्छ ।

स्क्रब टाइफस कस्तो रोग हो ?

डा। दाहालका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । यो जीवाणु मुसाको शरीरमा पाइने माइट हुन्छ । सङ्क्रमित कीराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । झाडी, खेतवारी, वनजङ्गल, घर वरिपरिको झाडीमा मुसा बढी पाइने हुँदा यस्तो ठाउँको वरिपरि बसोवास गर्ने मानिसमा यो रोग लाग्ने जोखिम बढी हुन्छ । यो रोग सङ्क्रमित कीराको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा नसर्ने डा। दाहालको भनाइ छ ।

लक्षणहरू

डा. दाहालका अनुसार उच्च ज्वरो आउने, अत्यधिक टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने, खोकी लाग्ने, वान्ता हुने यो रोगका प्रमुख लक्षण हुन्। त्यो बाहेक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, सास फेर्न गाह्रो हुने, कीराले टोकेको ठाउँमा रातो डाबरजस्तो दाग देखिने जस्ता लक्षण देखिन्छन् ।

उपचार

यो रोग समयमा पहिचान गरेर औषधी सेवन गरेमा निको बनाउन सकिने डा. दाहाल बताउनुहुन्छ । यो रोग लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा विरामीलाई लगेर औषधी खुवाउन उहाँको सुझाव छ। स्क्रब टाइफस एन्टिबायोटिक औषधीको प्रयोग गरेर गरिन्छ । जुन औषधी चिकित्सकको सल्लाहमा मात्र खान मिल्छ ।

यदि समयमा उपचार गरिएन भने यो रोगले गम्भीर रूप लिन सक्छ । स्क्रब टाइफसलाई बेवास्ता गरेमा मस्तिष्क ज्वरो, कलेजो, फोक्सो आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्गले काम गर्न छोड्नेजस्ता गम्भीर लक्षण देखिएर बिरामीको मृत्यु समेत हुनेगर्छ ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेतबारी, वनजङ्गल जाँदा लामो बाहुला भएको कपडा र जुत्ता लगाउन डा। दाहालको सुझाव छ । सम्भव भएसम्म भुइँमा नबस्ने, चउरमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने गर्दा पनि केही हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ। शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्दा यसको टोकाइबाट बच्न सकिने डा। दाहालको भनाइ छ । मुसा आउन नदिन घर वरिपरि, खेतबारीमा घाँस बढ्न नदिने र घर वरिपरिको वातावरण सफा राख्न उहाँको अनुरोध छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया