धरान (सुनसरी), ३० साउन २०८२ । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
शुक्रबार दिउँसो बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको स१०प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका–४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका–११, बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
चतरा वराहक्षेत्र सडकखण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुंगाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए । शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।रासस






