विराटनगर, ९ साउन २०८२ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ वर्षको अवधिमा ४ अर्ब १ करोड बढी बेरुजू फछ्यौट गरेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४ सय ७७ रुपैयाँ बेरुजू फछ्यौट गरिएको जानकारी दिए। उनका अनुसार मन्त्रालयमा कूल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजू थियो। त्योमध्ये ६७.४१ प्रतिशत बेरुजू फछ्यौट भएको छ।
मन्त्रालयले असुल गर्नुपर्ने बेरुजू १० करोड ९८ लाख ७८ हजार ३ सय १६ रुपैयाँ, पेश्की बेरुजू ३ अर्ब ६ करोड १५ लाख ४० हजार १ सय २० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजू फछ्यौट गरेको छ। मन्त्री राईले गतवर्ष प्रदेश सरकारले ११३.८० किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिए।
उनका अनुसार १७५.४० किलोमिटर ग्राभेल भएको छ। १६.७१ किलोमिटर आरसीसी–पीसीसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ। राईका अनुसार १ वर्षको अवधिमा प्रदेशले १८ वटा सडक पुल र १६ वटा झोलुंगे पुल निर्माण भएका छन्। ११ वटा बहुवर्षीय सडक आयोजनाको ११५.८० किलोमिटर सडक थप निर्माण भएको उनले बताए।
प्रदेश सरकारको स्रोतबाट २ सय ८४ विपन्न नागरिकको घर निर्माण भएको उनले बताए। संघीय सशर्त अनुदानबाट २ सय ५४ घर निर्माण भएका छन्। मन्त्रालयले गत वर्ष १३ वटा सरकारी भवन, ६९ वटा सामुदायिक भवन, ११ वटा सभा हल, ४० विद्यालयको पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको छ।
चालु आर्थिक वर्ष २०८२–०८३ को सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गरिने जानकारी राईले दिए।अन्नपूर्णपोष्टबाट






