झापा, ७ भदौ २०८३ । झापाको झापा गाउँपालिका–५ स्थित वडा कार्यालयमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यहि भदौ ५ गते रातको समयमा वडा कार्यालय पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मोनिटर, स्क्यानर, पेनड्राइभ र डिजिटल फिङ्गर प्रिन्ट रिडरलगायतका सामान चोरी भएको थियो । चोरी भएका सामानको कुल मूल्य २ लाख ५५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
चोरीसम्बन्धी सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय शरणामतीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले २० वर्षीय अर्जुन गणेशलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका गणेशले चोरी गरेका सामानमध्ये एक थान ल्यापटप भारतको किशनगञ्ज जिल्ला डिघलबैंकमा लगेर बिक्री गरिसकेको खुलेको छ ।
बाँकी चोरी भएका एक थान कम्प्युटर मोनिटर, एक थान स्क्यानर, दुई थान पेनड्राइभ र एक थान डिजिटल फिङ्गर प्रिन्ट रिडर भने हैचाबारीमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको जनाएको छ ।
पक्राउ परेका गणेशमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






