Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

झापा, ७ भदौ २०८३ । झापाको दमकबाट जेनजी आन्दोलनका क्रममा लुटिएको सर्टगनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–१ रातोपुलस्थित अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कर्णले २०८२ साल भदौ २३/२४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको एक थान सर्टगन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले कर्णलाई नियन्त्रणमा लिएर उल्लेखित स्थानमा खोजतलास गर्दा प्रहरीको मिक कम्बलमा पोको पारी लुकाइएको अवस्थामा सर्टगन फेला पारेको हो । प्रहरीले बरामद गरेको सर्टगनको ब्यारेन भाँचिएर दुई टुक्रा भएको अवस्थामा रहेको जनाएको छ ।

सर्टगन बरामद गरेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया