काठमाडौं, ३ साउन २०८२ । महिला कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि शनिबार भारतको हरियाणा प्रस्थान गरेको छ ।
पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हात पारिरहेको छ । यस पटक विश्वकपमा पनि पदक जित्ने लक्ष्य लिएर नेपाली महिला कबड्डी टोलीले भारतको यात्रा तय गरेको छ ।
१४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा प्रस्थान गरेको छ । नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन् ।
महिला कबड्डी विश्वकपको दोस्रो संस्करण अगष्ट ३ देखि १० सम्म हैदरवादमा आयोजना हुँदैछ । सुरुमा जुनमा बिहारमा हुने तयारी थियो तर अब हैदरवादको गोचिबोली इन्डोर स्टेडियममा अगष्ट ३ देखि १० सम्म आयोजना हुनेछ ।
विश्वकप खेल्नुअघि नेपाली महिला कबड्डी टोलीले हरियाणास्थित मोरमाजरामा १२ दिनको तयारी गर्नेछ । त्यहाँ रहँदा नेपालले बन्द प्रशिक्षणमा तयारी गर्नुका साथै ५ अभ्यास खेल पनि खेल्ने तालिका छ ।
कप्तान मानमती विष्टले लामो समयदेखि टिमले प्रशिक्षण गरिरहेको र हरियाणामा हुने तयारीले अझ सहयोग पुग्ने बताएकी छन् । ‘हरियाणाको गुरुकुलमा तयारी गरेको हो पहिला पनि । अहिले पनि त्यहाँ गएर प्रशिक्षण गर्दा र म्याच एक्सपोजरले विश्वकपमा धेरै सहयोग गर्छ र राम्रो हुन्छ’ विष्टले भनिन्, ‘त्यहाँ हामीले ५ अभ्यास म्याच पनि खेल्छौं । त्यसले गर्दा खेलको अनुभव पनि राम्रो हुन्छ।’
महिला कबड्डी विश्वकपमा १४ टोलीको सहभागिता हुनेछ । आयोजक भारतसहित अर्जेन्टिना, बंगलादेश, चाइनिज ताइपेई, जर्मनी, नेदरल्याण्ड्स, इरान, जापान, केन्या, नेपाल, पोल्याण्ड, थाइल्याण्ड, युगान्डा, जान्जिबारले विश्वकप खेल्नेछन् ।
महिला कबड्डीमा पहिलो विश्वकप भएको १३ वर्षपछि दोस्रो संस्करण हुन लागेको हो । सन् २०१२ मा पहिलो संस्करण भारतकै पटनामा भएको थियो ।
पहिलो संस्करण भारतले जितेको थियो भने इरान, जापान, थाइल्याण्ड दोस्रो देखि चौथोसम्म भएको थियो ।






