Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौं, ३० असार २०८२ । स्वास्थ्य बीमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ । सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा(सुविधा लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नयाँ व्यवस्थाअनुसार बिमितले बीमा गरेको एक महिना भित्रमै सेवा लिन सक्नेछन् ।

बोर्डले आउदो १ साउनदेखि लागु हुनेगरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि बीमा आवद्ध भएका नागरिकले सेवा लिनका लागि ४ महिनासम्म कुर्नुपर्ने हुन्थ्यो ।

बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बताए ।

‘पहिला वर्षको चार साइकलमा सेवा सुरु हुने गरेको थियो । वैशाख, जेठमा बिमित भएकाले भदौबाट मात्रै सेवा पाउँथे । साउन, भदौ भएकाले मंसिरबाट सेवा पाउँथे,’ मल्लले स्पष्ट पाँदै भने, ‘बिमित भएको तीन-चार महिनापछि मात्रै सेवा पाउँथे ।’

तर, अहिलेको नयाँ व्यवस्था अनुसार १२ साइकलमा कार्यक्रम सुरु हुँदैछ । यसले महिना दिनकै अन्तरमा उपचार लिन सक्नेछन् ।

बीमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनालाई पहिलो महिना मानिनेछ । त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट नै बीमाले प्रदान गर्ने सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिनेछ । यो नियम १ साउन २०८२ देखि लागु हुनेछ ।

बोर्डले जारी गरेको सूचनामा ‘जुन महिना बीमामा दर्ता भएको हो, सो महिनालाई पहिलो महिना मानी सो पश्चात्‌को तेस्रो महिनाको १ गतेदेखि नै बिमितको सेवा-सुविधा लागू हुनेछ,’ भनिएको छ ।

 

 

तपाईको प्रतिक्रिया