Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, ३० असार २०८२ । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘पोभिन’ नामक औषधिको एक ब्याचलाई बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार सूचना जारी गरी राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त औषधि न्यून गुणस्तरको पाइएपछि बिक्री वितरणमा रोक लगाउँदै फिर्ता गर्न महानिर्देशक नारायण प्रसाद ढकालले निर्देशन दिएका हुन् ।

महानिर्देशक ढकालद्वारा जारी सूचनामा क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपा–१०, काभ्रेपलाञ्चोकले उत्पादन गरेको पोभिन नामक औषधी न्यून गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता बोलाउन भनेको हो ।

यो औषधि सामान्यतया घाउ सफा गर्न र सङ्क्रमण रोक्न एन्टिसेप्टिकको रूपमा प्रयोग गरिन्छ । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याचको औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र विवरण विभागमा पेस गर्न सो उद्योगलाई निर्देशन दिएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, विभागले उक्त ब्याचको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न स्वास्थ्यकर्मी, अस्पताल, फार्मेसी तथा उपभोक्ताहरूलाई सूचनामार्फत आग्रह गरेको हो ।

 

तपाईको प्रतिक्रिया