Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २९ असार २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ । रास्वपाको महामन्त्री आफू नै रहेको भन्दै अन्तरिम आदेश माग गर्दै डा. ढकालले दायर गरेको रिटमा आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले डा। मुकुललाई कारबाही गरेको निर्णयको सक्कल कपीसहित सम्बद्ध कागजात झिकाउने आदेश गरेको छ ।

रास्वपाका तर्फबाट मुद्दा लडेका अधिवक्ता नवराज पुडासैनीका अनुसार, इजलासले रास्वपाको निर्णयको सक्कल कपीसहितका कागजात झिकाउने आदेश गरेको हो । रास्वपाको निर्णय आएपछि सर्वोच्चबाट रिटमा अन्तरिम आदेश जारी हुने नहुने निर्णय हुनेछ ।

यसअघि रास्वपाको अन्तिमपटक अध्यावधिक पदाधिकारीसूचीमा महामन्त्रीमा डा. मुकुल ढकालकै नाम रहेको र त्यसपछि अध्यावधिक नभएको भन्दै दिएको पत्रको सक्कल कपी झिकाउने आदेश गरेको थियो । यही असार ११ मा डा। ढकालले निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा रास्वपा महामन्त्री आफैँ रहेको र रास्वपामा महामन्त्रीको जिम्मेवारी निर्वाध रूपमा आफूले निर्वाह गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूले जनमतबाट आएको सुझावसहितको प्रतिवेदनमा रवि लामिछानेका विषयमा गरेको टिप्पणी र सर्वोच्चले रवि सहकारी ठगीमा संलग्न रहेको हुनसक्ने भन्दै दिएका आधार मिल्दाजुल्दा भएकाले आफूले विगतमै उठाएका तथ्यगत विषयलाई आधार बनाएर गरिएको कारबाही खारेज हुनुपर्ने पनि उनको दाबी छ ।

 

तपाईको प्रतिक्रिया