झापा, २५ असार २०८२ । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्कुटर चालक कचनकवल-३ डाकुपारा बस्ने बर्ष ६० का श्रीप्रसाद राजबशी रहेका छन् । सोही स्कुटरमा सवार उनकी बुहारी वर्ष २७ की उर्मिला राजबशी घाईते र नाति वर्ष ३ का आयुष राजबशी गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
आज दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका-१ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो ।
स्कुटर चालक राजवंशी र नाम थर वतन नखुलेका मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो ४:४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको शव सोही अस्पतालमा रहेको छ ।






