काठमाडौं, २१ असार २०८२ । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ । शनिबार (असार २१) उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो ।
पेनाल्टीमा उज्वेकिस्तानका चारै खेलाडीले गोल गरे । नेपालबाट पहिलो प्रहारका निम्ति आएकी सावित्रा भण्डारीको प्रहार नै पोस्टमा लागेर फर्कियो । त्यसपछि गीता राना र सविता रानामगरले गोल गरे । गोलकिपर अञ्जना रानामगर चौथो पेनाल्टीमा आए पनि उनको प्रहारलाई उज्वेकिस्तानकी गोलकिपरले विफल बनाइन् । योसँगै पहिलोपल्ट एसियन कप खेल्ने नेपालको सपना समाप्त भयो ।






