काठ्माडौं, ८ असार २०८२ । हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको संगठन तथा व्यवस्थापन (ओएनएम) मा सरकारी रेडियोग्राफी सोसाइटीले आपत्ति जनाएको छ। सोसाइटीले हाल सरकारी स्वास्थ्य सेवातर्फ रेडियोग्राफी सेवार्फत सरकारी दरबन्दी अत्यन्त कम रहेको अवस्थामा भर्खरै सार्वजनिक भएको ओएनएममा झन् रेडियोग्राफी सेवातर्फको दरबन्दी नबाइएकोप्रति आपति जनाएको हो।
ओएनएम विरोध स्वरूप सरकारी रेडियोग्राफी सोसाइटीले हातमा कालोपट्टी बाँधेर विरोध गरेको छ।
उक्त सोसाइटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्तावित ओएनएम संरचनाको विरोधमा हामीले एकताबद्ध रूपमा सुरु गरेको शान्तिपूर्ण कालोपट्टी बाँध्ने कार्यक्रम आगामी सोमबारसम्म निरन्तर रूपमा सञ्चालन गरिनेछ। सोमवारसम्म हामी शान्तिपूर्ण विरोध जारी राख्दै मन्त्रालयबाट संवादका लागि आउने पहलको प्रतीक्षामा रहनेछौं। यदि उक्त म्यादभित्र मन्त्रालयबाट संवादको पहल नभएको खण्डमा, हामी अझ दृढ, निर्णायक र सशक्त रूपमा आन्दोलन अगाडि बढाउनेछौं। त्यसपछिको आन्दोलनको स्वरूप तथा रणनीति निर्धारण गर्न हामी देशभरका सम्पूर्ण सरोकारवालाहरूसँग राष्ट्रियस्तरमा गम्भीर छलफल गरी तय गर्नेछौं। यदि आन्दोलनलाई कठोर मोडमा लैजानुपर्ने अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं स्वास्थ्य मन्त्रालयले लिनुपर्नेछ।’






