विराटनगर, २४ जेठ २०८२ । कोशी प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता प्रदेश राजधानी विराटनगरमा शनिबारबाट सुरु भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको सहिद रंगशालामा खेलाडी छनोट सुरु भएको हो। कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरेको छनोट प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीहरु सहभागी छन्। छनोट प्रतियोगिता आगामी सोमबारसम्म चल्ने छ।
प्रतियोगिताको उद्घाटन गर्दै विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुद लगायतको क्षेत्रमा समेत पर्याप्त लगानी आवश्यक रहेको बताए। उनले लगानीले मात्रै चौतर्फी विकास हासिल हुन सक्ने बताए। आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर रकम विनियोजन गर्न कोशी प्रदेश सरकारलाई विष्टको आग्रह छ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले आगामी बजेट खेल क्षेत्र र खेलाडीलाई प्राथमिकतामा राखेर निर्माण गरिने प्रतिबद्धता जनाए। मन्त्री राईले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरुलाई धन्यवाद दिएका छन्।
प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना व्यक्त गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीलाई उचित सम्मान हुने जानकारी दिए। उनले खेलाडीले सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माणका लागि बोर्डले काम गरिरहेको बताएका छन्।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सोलुखुम्बु, सुनसरी र खोटाङ जिल्ला सहभागी छैनन्। प्रतियोगितामा सहभागी हुने खेलाडीको अधिकार सुनिश्चित गर्न असफल भएका जिल्लाका खेलकुद विकास समितिलाई कारबाही गरिने बस्नेतले बताए।
छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको बोर्डले जनाएको छ। छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन्।






