बुटवल, २२ जेठ २०८२ । मापदण्ड विपरीत सञ्चालित बुटवलका ६ वटा क्लिनिकलाई जिल्ला प्रशासन रुपन्देहीको अनुगमन टोलीले बन्द गराएको छ ।
नियम विपरीत चिकित्सक राखेर चेकजाँच तथा उपचार समेत गराउने फार्मेसीमा दर्ताविना चलेका क्लिनिकलाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनको आग्रहपछि प्रशासनले अनुगमन गरेको हो ।
बिहीबार अनुगमन टोलीले विभिन्न ११ वटा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताविना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।
टोलीले अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराइएको सहायक प्रजिअ रानाले बताए । त्यस्तै बरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई पनि बन्द गराएको छ ।
अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्डल प्रालिलाई पनि बन्द गरेको छ । अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिक सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने छ ।






