Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

भक्तपुर, ११ जेठ २०८२ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए ।

यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अङ्गमध्ये एउटा मिर्गौला र कलेजो एक जनालाई र अर्को मिर्गौला एक जनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उनले जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताउँदै भने, ‘मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अङ्गमध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ । उहाँको स्वास्थ्य अवस्था सुधार छ, अबको केही दिनमा उपचार सकेर घर फर्किनुहुन्छ ।’

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे र डा प्रवीण महर्जनको सहयोग तथा मिर्गौला प्रत्यारोपणमा डा दीपेश श्रेष्ठ, डा रुपेशकुमार झा, डा हरिप्रसाद बराल, डा रोजन अधिकारी, डा विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, नेफ्रोलोजी विभागबाट डा कल्पनाकुमारी श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष सुवेदी र डा विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मीले सफलतापूर्वक प्रत्यारोपण गरेका थिए ।

मस्तिष्क मृत भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको भएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि छ जनाको मृत्यु हुने गरेको भन्दै काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकामा उनीहरूको अङ्ग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने अस्पतालले जनाएको छ ।

एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जनामा अङ्ग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।

मस्तिष्क मृत्यु पश्चातको अङ्गदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात् हुने अङ्गदानबाट हुनसक्ने र देश अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

केन्द्रले वि।सं २०७३ मङ्सिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । नेपाली टोलीबाट विसं २०७५ कात्तिक १२ गते पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो ।

केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ ।

केन्द्रले देशमा पहिलो पटक विसं २०७४ वैशाख २८ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो । त्यसपछि हालसम्म ६ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।रासस

 

तपाईको प्रतिक्रिया