लन्डन, ७ जेठ २०८२ । बेलायतले यौन सम्पर्कबाट सर्ने रोग गोनरिया नियन्त्रण गर्न सक्ने खोप जारी गर्दैछ । यो खोप बनाउने बेलायत विश्वको पहिलो देश बन्नेछ । खोप सबैका लागि उपलब्ध हुने भन्दै बीबीसीले समाचार छापेको छ ।
खोप खासगरी विगतमा धेरै जनासँग यौन सम्पर्क गरेका समलिङ्गी र उभयलिंगी पुरुषलाई लक्षित गरेर ल्याउन लागिएको हो । खोपका लागि कति जनालाई छानिनेछ भन्ने पनि अनिश्चित छ ।
खोपको प्रभावकारिता ३० देखि ४० प्रतिशत पाइएको छ । तर यसले बढ्दो सङ्क्रमणलाई नियन्त्रण गर्ने आशा एनएचएस इङ्गल्यान्डले गरेको छ । २०२३ मा बेलायतमा ८५ हजार भन्दा धेरैमा गोनोरियाको सङ्क्रमण देखिएको थियो । यो १९१८ यताकै उच्च हो ।
गोनोरियामा सधैँ लक्षण देखिँदैन । तर यसबाट सङ्क्रमितहरूलाई गुप्ताङमा पीडा हुने, असामान्य तरिकाले पानी बग्ने, सुन्निने र बाँझोपन जस्ता समस्या देखिन्छ ।
इम्पेरियल कलेज लन्डनले गरेको प्रक्षेपणका अनुसार खोप लोकप्रिय भयो भने यसले आगामी दशकसम्ममा सङ्क्रमितको सङ्ख्या १ लाख भन्दा धेरैले घटाउने र एनएचएसको झन्डै ८० लाख पाउन्ड बचाउनेछ । अगस्टदेखि खोप लगाउन थालिनेछ । खोप गोनोरियाकै लागि भनेर बनाइएको चाहिँ होइन ।
खासगरी यो मेनेन्जाइटिस बीविरुद्धको खोप हो । यो खोप अहिले बच्चाहरूलाई मात्रै लगाइन्छ । तर यी दुवै रोग गराउने ब्याक्टेरिया एकै हुन् । त्यसैले यो खोपले गोनोरिया सङ्क्रमितको सङ्ख्या एक तिहाइले घटाउने आशा गरिएको छ । केहीले यो खोपको प्रभावकारिताबारे प्रश्न पनि उठाइरहेका छन् ।






