Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, २८ वैशाख २०८२ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरेका हुन्। बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरूका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न निर्देशन दिएका थिए।

सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा सुरु भएको हो। सेवा सुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भइरहेको बताए।

मन्त्री पौडेलले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए। अब आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए।

थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शय्या रहने निमित्त कार्यकारी निर्देशक डा। उज्वल चालिसेले बताए।

अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइरहेको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया