Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

काठमाडौं, १४ वैशाख २०८२ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।

शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

यसअघि यो सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई पनि सोझै अदालत उपस्थित गराउने वा म्याद लिएर अनुसन्धान गर्ने भन्ने थियो । तर, उनको नामबिनै अघिल्लो पटक सहकारी ठगीको मुद्दा दायर भएकाले म्याद थप गरेर पुरक अभियोजन लगेर मुद्दा चलाइने एसपी बोहराले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेका राईलाई पक्राउ गरेका थिए । यसअघि दुई महिना लामो अनुसन्धान सकेर परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । तर, सरकारी वकिल कार्यालयले सांसद राईलाई उन्मुक्ति दिंदै मुद्दा दायर गरेको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको थियो ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै २१ पुस ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया